Kathmandu Press

म मन्त्री बन्नेतिर लागेको छैन, पार्टी बलियो बनाउन खटिएको छु : गगन थापा

पाँच वर्षपछि २०८४ सालमा हुने निर्वाचनमा सबै क्षेत्रमा एक्लै लड्ने गरी कांग्रेसलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।
म मन्त्री बन्नेतिर लागेको छैन, पार्टी बलियो बनाउन खटिएको छु : गगन थापा

बुटवल, चैत ११ : कांग्रेस महामन्त्री गगन थापाले आफू मन्त्री बन्न लागेको भन्ने कुरा निराधार भएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न प्रस्ताव राखेकाे भन्ने  कुरामा कुनै सत्यता नरहेको उनले स्पष्ट पारे।

कांग्रेस रुपन्देही ३ नम्बर क्षेत्रीय समितिद्वारा आज (शनिबार) भैरहवामा आयोजित भेटघाट तथा अन्तक्र्रियामा उनले आफू मन्त्री पद खानेतिर भन्दा पनि कांग्रेस मजबुद बनाउन ध्याउन्नमा लागेको बताए। आफूलाई कसैले कुनै पद नदिएको तर लडेरै लिएको र साथीभाइको माया र शुभेच्छाले पाएको उनले बताए। 

पाँच वर्षपछि २०८४ सालमा हुने निर्वाचनमा सबै क्षेत्रमा एक्लै लड्ने गरी कांग्रेसलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

 ‘अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ,’ थापाले भने,  ‘८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठुलो पार्टी अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्छ।’

थापाले केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने बताए। अहिले कुनै क्षेत्र राम्रो छ भन्ने अवस्था नरहेकाले जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन गर्ने गरी सरकार अघि बढ्नुपर्नेमा उनले जोड दिए।

थापाले तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको बताए। उनले पार्टीको बैठकभन्दा ३ गुना धेरै गठबन्धनको बैठक बस्ने गरेको बताए।

प्रकाशित मिति: १३:०५ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्