एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : एमाले अध्यक्ष ओली
झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिए।
झापा, चैत १० : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताएका छन्।
झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिए।
'आगामी चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो', उनले भने, 'तपाईँहरू ग्रासरुट अभिायनमा कार्यकर्ताको घरआँगनमा पुग्दा तपाईँहरूको व्यवहार मालिकजस्तो होइन, साथीजस्तो हुनुपर्छ।'
एमालेविरुद्ध केन्द्रमा १० दलीय गठबन्धन बनाए पनि आम जनता एमालेकै पक्षमा रहेको उनको दाबी थियो। अभियानले आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरूको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने उहाँले बताउनुभयो।
उनले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हुँदा यसको विरोध गरिरहेकाहरूलाई समेत एमालेका कार्यकर्ताले सम्झाउनुपर्ने बताए।
'कोशी कुनै जाति र पार्टीको पेवा होइन, हामी सबैको सभ्यताको साझा उद्गमस्थल हो', उहाँले कोशी प्रदेश नामकरणका लागि प्रदेशका मुख्यमन्त्री र सांसदलाई बधाई दिँदै भने, 'कौशिक ऋषिका नामबाट प्रदेश बनाइयो भनेर पनि भ्रम छरिएको सुनिएको छ। तर एउटा व्यक्ति वा ऋषिको नाममा कोशी नदीको नाम रहेको कुरा सत्य होइन। मानिस उत्पन्न हुनुभन्दा पहिले कोशी उत्पन्न भएको थियो। कोशी एउटा महान् सभ्यता हो, प्रदेशमा बसोबास गर्ने सबै जाति, धर्म र समुदायको जीवनदायी साझा पहिचान हो।'
एमाले अध्यक्ष ओलीले कुनै कमी–कमजोरी भए भने आफ्नो पनि आलोचना गर्न कार्यकर्तालाई आह्वान गरे। 'मेरा पनि कमजोरी छन् आनीबानी र व्यवहारमा कुनै पनि कमजोरी देख्नुहुन्छ भने भन्नुहोस् भनेर आमसभाबाट आह्वान गर्न सक्ने एमाले अध्यक्षमात्रै हो', उनले भने, 'मलाई नजिकैबाट हेर साथीहरू, कुनै दाग धब्बा देखियो भने औँल्याउन भन्न चाहन्छु।'
गृहजिल्ला झापाको मिसन ग्रासरुट अभियान गत फागुन १० गते सुरु भएको थियो। जिल्लाका १५ पालिका र एक सय ३१ वटा वडा तहमा अभियान सञ्चालन भइरहेको एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिए।








![नागढुंगा सुरुङमार्गको उद्घाटन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785133541.jpg)


