Kathmandu Press

आइजिपी सिंहसहित नौ वरिष्ठ प्रहरी अधिकारीले आज अवकाश पाउँदै

अवकाश पाउनेमा प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंह पनि छन्। उनका ब्याचका अरु आठ वरिष्ठ अधिकारीले अवकाश पाउन लागेका हुन्। आइजिपीबाहेक तीन एआइजी, तीन डिआइजी र दुई एसएसपी छन्।
आइजिपी सिंहसहित नौ वरिष्ठ प्रहरी अधिकारीले आज अवकाश पाउँदै

काठमाडौं, चैत १० : नेपाल प्रहरीका ९ जना वरिष्ठ प्रहरी अधिकृतले ३० वर्षे सेवा हदका कारण आज (शुक्रबार) राति १२ बजेबाट अवकाश पाउँदैछन्।

अवकाश पाउनेमा प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंह पनि छन्। उनका ब्याचका अरु आठ वरिष्ठ अधिकारीले अवकाश पाउन लागेका हुन्। आइजिपीबाहेक तीन एआइजी, तीन डिआइजी र दुई एसएसपी छन्।

अवकाश पाउनेमा एआइजी सहकुलबहादुर थापा, उत्तमराज सवेदी र दिवेश लोहनीका साथै डिआइजी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ छन्। त्यसैगरी एसएसपी उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि आजै अवकाश पाउने प्रहरी अधिकृत हुन्।

उनीहरू सबैले २०४९ चैतमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका थिए। उनीहरुलाई एक महिनाअघि नै प्रहरी किताबखानाले अवकाशको पत्र दिइसकेको छ। आज साँझ ५ बजे प्रहरी प्रधान कार्यालय नक्सालमा उनीहरुको बिदाइ गरिँदैछ।

नयाँ आइजिपी आजै बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्दैछ। नयाँ आइजिपी बन्ने लाइनमा हालै एआइजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। यीमध्ये एकजना आइजिपीमा बढुवा हुनेछन्।

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्