गण्डकी सरकारबाट बाहिरिने माओवादी केन्द्रकाे निर्णय
माओवादी केन्द्रबाट सरकारमा रहेका भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा दिन लागेको जनाइएको छ।
पोखरा, चैत १० : माओवादी केन्द्र एमाले नेतृत्वको गण्डकी सरकारबाट बाहिरिने भएको छ।
शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिन लगाउने निर्णय गरेको छ।
माओवादी केन्द्रबाट सरकारमा रहेका भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा दिन लागेको संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।
पर्यटनमन्त्री जुग्जालीका अनुसार सरकारबाट बाहिरिने निर्णय भइसकेको छ भने अहिले नेपाली कांग्रेससँग अगाडि बाटोबारे पनि छलफल भइरहेको छ। मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा बुझाउँदै छन्।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत नपाए उनी पदमुक्त हुनेछन्।
अधिकारीले विश्वासको मत नपाए केन्द्रीय समीकरणअनुसार माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत दलको मिलेमतोमा नयाँ सरकार गठन हुनेछ। नयाँ बन्ने सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषय भने अझै नटुंगिएको नेताहरुले बताएका छन्। कांग्रेस र माओवादी दुवैले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्।
पुस १० गते संघीय सरकार गठन हुँदा बनेको गठबन्धन भत्किएर नयाँ बनेपछि प्रदेश सरकार फेरबदल हुने अवस्था आएको हो।









![नागढुंगा सुरुङमार्गको उद्घाटन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785133541.jpg)

