Kathmandu Press

मिटरब्याजी पीडित किसानलाई घर फर्कन प्रधानमन्त्रीको निर्देशन

पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानुन बनाउनका निम्ति मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको शर्माले जानकारी दिए। सरकारले तीन सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको छ।
मिटरब्याजी पीडित किसानलाई घर फर्कन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, चैत १० : मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानलाई घर फर्कन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्।

महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न सरकार तयार रहेकाले घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री दाहालले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।

सोही निर्देशनबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्दासमेत चलाइरहेको उलने बताए। घर फर्किन आवश्यक सहयोग गर्नेसमेत उनले बताए।

प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने बताए । किसानले सो अवसरमा काठमाडौँसम्मको यात्राका लागि आफूहरुलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न तथा सवारी साधनको प्रबन्ध मिलाउन आग्रह गरेका थिए ।  

पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानुन बनाउनका निम्ति मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको शर्माले जानकारी दिए। सरकारले तीन सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको छ।

‘आज मात्रै प्रधानमन्त्रीले कानुन सचिवलाई कानुनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषदमा ल्याउन र संसदमा दर्ता गर्न भनिसक्नुभएको छ,’ शर्माले भने, ‘चाँडै नै त्यो  कानुन संसद्मा दर्ता हुन्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ।’

 

प्रकाशित मिति: ११:४१ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्