विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री जम्कट्टेल
फागुन १३ गते प्रदेश सरकारबाट बाहिरिँदै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
काठमाडौं, चैत १० : बगमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे प्रदेशसभा बैठकमा जम्कट्टेलले विश्वासको मत लिनेछन्।
यसअघि बुधबार नै विश्वासको मत लिने कार्यक्रम थियो । तर, कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि बुधबारको प्रदेशसभा बैठक स्थगित गरिएको थियो।
सरकारमै सहभागी नेकपा एमाले आजको बैठमा उपस्थित हुने–नहुने टुंगो लागिनसकेकाले प्रदेशसभा बैठक अन्योलमै छ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोहोर्याएर विश्वासको मत लिन लागेका हुन् । फागुन १३ गते प्रदेश सरकारबाट बाहिरिँदै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।
कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिल्दा जम्कट्टेललाई आवश्यक मत सहजै प्राप्त हुने स्थिति हुन्छ ।











