दिल्ली पुर्याई यौनधन्दामा लगाइएका १० नेपाली किशाेरी र महिलाको उद्धार
उद्धार गरिएकाहरुको उमेर १५, १६, १७, १८, २० र २५ रहेको छ। उनीहरु नुवाकोट, काठमाडौं, कास्की, खोटाङलगायत जिल्लाका रहेको बताइएको छ।
काठमाडौं, चैत ९ : मानव तस्करीको सिकार भएर भारतको दिल्लीमा जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाको उद्धार गरिएको छ।
नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, किन इन्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त मिसन फ्ल्याट नामक अभियान चलाएर बिहीबार ती महिलाहरुको उद्धार गरिएको हो। उद्धार गरिएकी एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली लगेर जबरजस्ती यौन धन्धामा लगाएको बताएको जनाइएको छ।
दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौनधन्धामा लगाइएका ती १० महिलाहरु उद्धारपछि मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरोको जिम्मम लगाइएको हो। उद्धार गरिएकाहरुको उमेर १५, १६, १७, १८, २० र २५ रहेको छ। उनीहरु नुवाकोट, काठमाडौं, कास्की, खोटाङलगायत जिल्लाका रहेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार नेपालमा रहेका सहयोगीहरुले भारतमा राम्रो तलबमा राम्रो काम दिने बहानामा नेपाली महिलालाई दिल्ली पुर्याएपछि त्यही बस्दै आएका टीकाराम भण्डारी र उनकी पत्नी टीका ओलीले दिल्लीस्थित फ्ल्याटमा राखेर यौनधन्धा गराउने गरेको खुलासा भएको छ।
पोखराबाट चार युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानीरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएपछि मिसन फ्ल्याट अभियान चलाएर खोजी गरेको त्यही खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले बताए।
चारजनामध्ये एका युवती फेला परेको र ती युवतीले हराएका बाँकी ३ जना रहेको ठेगाना बताएपछि गरिएको कारबाहीमा अरुसमेत गरी १० नेपाली महिला फ्ल्याटबाट फेला परेको उनले जानकारी दिए।
युवतीले दिएको सूचनाका आधारमा उनीहरुलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हान्नुपरेको र ४८ घण्टाको निरन्तरको खोजीपछि महिलाहरुको उद्धार गर्न सकिएको किन इण्डियाका प्रमुख नविन जोशीले बताए।











