प्रधानमन्त्री नागरिक तर्साउनतिर लाग्नुहुँदैैन : महामन्त्री थापा
‘प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ। प्रधानमन्त्री डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ।'
काठमाडौं, चैत ९ : कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले नागरिक तर्साउनतिर नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश हाँक्ने कुर्सीमा बस्ने प्रधानमन्त्रीले सधैं जनतासँग, आफ्नो कामसँग डराउनुपर्नेमा जोड दिए। प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने तर्क गरे।
‘प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ। प्रधानमन्त्री डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ,’ उनले भने। थापाले आफूसँग पर्याप्त मत छ भनेर प्रधानमन्त्रीलाई बस्ने छुट नभएको पनि बताए।
‘प्रधानमन्त्रीले मसँग १७२ छ, १७३ छ, ढुक्क छ भन्दै गयो भने टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ। उनले यति धेरै तन्नेरी आत्तिएको, यतिधेरै मानिस निराश भएको कहिल्यै नदेखेको उनले बताए।
महामन्त्री थापाले भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका उल्लेखनीय हुने बताए।











