मानहानिको मुद्दामा राहुल गान्धीलाई दुई वर्ष जेल सजाय
गुजरातको सुरत अदालतले बिहीबार चार वर्ष पुरानो आपराधिक मानहानिसम्बन्धी मुद्दामा उनलाई दुई वर्षको जेल सजाय सुनाएको हो। सन् २०१९ को यो घटनामा उनी दोषी ठहर भएका हुन्।
काठमाडौं, चैत ९ : मानहानि मुद्दामा कांग्रेस आईका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ।
गुजरातको सुरत अदालतले बिहीबार चार वर्ष पुरानो आपराधिक मानहानिसम्बन्धी मुद्दामा उनलाई दुई वर्षको जेल सजाय सुनाएको हो। सन् २०१९ को एक घटनामा उनी दोषी ठहर भएका हुन्।
मुद्दाको सुनुवाइका क्रममा उनी स्वयं अदालतमा उपस्थित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फैसला सुनाएपछि अदालतले उनलाई जमानत भने दिएको छ। उनलाई अदालतले १० हजार रुपैयाँ जमानतमा रिहा गर्ने आदेश जारी गरेको हाे। अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समयसमेत दिएको छ।
भारतीय दण्ड संहिताको धारा ४९९ मा आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजाय हुने व्यवस्था छ। सन् २०१९ को यो मुद्दा उनको ‘मोदी उपनाम’का बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ।
त्यतिबेला उनले ‘सबै चोरको उपनाम मोदी कसरी हुन्छ?’ भनेर बयान दिएका थिए। उनले भनेका थिए, ‘सबै चोरहरु, चाहे ऊ निरभ मोदी होस्, ललित मोदी हो वा नरेन्द्र मोदी होस्, सबैको थर किन मोदी भयो?’
अदालतको आदेशलगत्तै गान्धीले महात्मा फेसबुकमा गान्धीको भनाइ सेयर गरेका छन्, 'मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो भगवान हो, अहिंसा त्यसलाई प्राप्त गर्ने साधन।'
सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार गान्धीले त्यस्तो भनेर कुनै समुदायलाई चोट पुर्याउन नचाहेको उनको वकिलले बताएका थिए।











