कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा

सुर्खेत, चैत ८ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताएका छन्।
नेपाल कानून समाजद्वारा वीरेन्द्रनगरमा आयोजित ‘सङ्घ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले राजनीतिक अस्थिरताका कारण कानून कार्यान्वयन बाधक बन्दा वित्तीय संघीयता सही ठाउँमा लागू नभएको बताए।
‘प्रशासनिक संघीयताको सही कार्यान्वयन हुन सकेको छैन। संघीयता कार्यान्वयनका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ,’ उनले भने, ‘देखिएका ती समस्यालाई हल गर्नुपर्छ। जनता र राष्ट्रका लागि कानून कार्यान्वयन आवश्यक कुरा हो तर चुनौती धेरै छन् । यसमा सम्बन्धित सबै सरोकारवालामाझ छलफल हुनुपर्दछ।’
यस्तै, कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले प्रशासनिक भार नपर्ने गरी कानून निर्माण गर्नु आजको पहिलो आवश्यकता भएको बताए। उनले प्रदेश सरकारबाट एकल अधिकारका विधेयकलाई संसद्मा लैजाने र त्यहाँबाट पारित गरेर संरचनात्मक विकास र स्थापना गर्न मन्त्रालयमार्फत अगाडि बढाउने सोच उल्लेख गरे।











