पाँहाचह्रेअन्तर्गत असन जात्रा मनाइयाे (तस्बिरहरू)
हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पुर्याएर जात्रा मनाउने परम्परा छ।
काठमाडाैं, चैत ८ : नेवार समुदायको पाँहाचह्रे जात्राअन्तर्गत बुधबार काठमाडौंको असन जात्रा धूमधामका साथ मनाएको छ।
हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पुर्याएर जात्रा मनाउने परम्परा छ। तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिलाख) साटासाट गरिन्छ।
यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा खट जुधाउने भन्ने प्रचलन रहिआएको हो। खट असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने गरिन्छ जसलाई प्रसादको रूपमा लिइन्छ यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास रहिआएको छ।
असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ र यस दिन काठमाडौंको भित्री सहरमा परिक्रमा गरी यो जात्रा मनाउने गरिन्छ। यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ।

















