Kathmandu Press

‘बारा २ मा गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्छ’

‘यसअघि त्यहाँबाट निर्वाचित व्यक्ति पनि जसपाकै भएकाले साझा उम्मेदवारीमा हाम्रो हक लाग्छ।’ 
‘बारा २ मा गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्छ’

काठमाडौं, चैत ८ : वैशाख १० मा प्रतिनिधिसभाका तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीष सुमनले बारा–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेका छन्।

‘बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाको हुनेछ भन्ने हामीले अपेक्षा राखेका छौं,’ उनले भने, ‘यसअघि त्यहाँबाट निर्वाचित व्यक्ति पनि जसपाकै भएकाले साझा उम्मेदवारीमा हाम्रो हक लाग्छ।’ 

नेता सुमनले बारा २ का लागि पार्टीले उम्मेदवार टुंगो लगाइनसकेको बताए। तर त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादवले उठ्ने तयारी गरेका छन्। सप्तरीमा जनमत पार्टीका अध्यष सिके राउतसँग पराजित भएपछि उनी सांसद बन्नबाट वञ्चित भएक थिए।

यसैबीच जसपाले चैत २७ दखि २९ गते हुने विधान अधिवेशनमा सहभागी हुने विभिन्न पेसागत तथा भ्रातृ संगठनबाट सहभागी हुने प्रतिनिधिबारे टुंगो लगाउन रकम चेम्जोङ, विजय यादव र आफूसमेत रहेको तीन सदस्यीय कार्यदल गठन गरेको सुमनले जानकारी दिए।

बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले उनले वैशाख १० गते हुने तनहुँ, चितवन र बाराको उपनिर्वाचन प्रयोजनका लागि एक दुई दिनभित्रै दल दर्ता गर्ने निर्णय समेत गरेको बताए। 

‘पार्टीको विधान अनुसार क्षेत्रीय समिति, जिल्ला समिति, मधेश प्रदेश समितिले उम्मेदवार टुंगो लगाएपछि हामीले टिकटमा हस्ताक्षर गर्नेमात्र हो, जसपाले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चय गरिसकेको छैन’ उनले भने ।

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्