विभेद अन्त्यका लागि सांस्कृतिक आन्दोलनसँगै कानुन संशोधन आवश्यक : प्रचण्ड
उनले संविधानमा भएको सकारात्मक कुरालाई उल्टाउने कसरत भइरहेको र यसले दलित र उत्पीडनमा परेकाहरुको अधिकारमा पनि असर पर्न सक्ने भएकाले सबै सचेत रहनुपर्ने धारणा राखे।
काठमाडौं, चैत ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सामाजिक रुपान्तरणका लागि सांस्कृतिक आन्दोलनका साथै केही कानुन संशोधन गर्नु जरुरी रहेको बताएका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभेद र उत्पीडनहरुको अन्त्यका लागि वैधानिक र कानूनी रुपमा मात्रै समाधान नखाेजे समस्या सिर्जना हुने भन्दै यसका लागि लागि सांस्कृतिक आन्दोलनका साथै केही कानुनहरुलाई संशोधन जरुरी रहेको बताए।
उनले संविधानमा भएको सकारात्मक कुरालाई उल्टाउने कसरत भइरहेको र यसले दलित र उत्पीडनमा परेकाहरुको अधिकारमा पनि असर पर्न सक्ने भएकाले सबै सचेत रहनुपर्ने धारणा राखे। दलित समूदायमाथि हुने बिभेद अन्त्य गर्नका लागि कानूनलाई कडा पार्ने र कार्यान्वयन प्रक्रियामा ध्यान दिने उनले बताए। प्रधानमन्त्री प्रचण्डले आधुनिक युग अनुसार मुलुकलाई आर्थिक समृद्धिको बाटोतर्फ अघि बढाउदै गर्दा विभेद र उत्पीडनहरुको क्रमशः अन्त्य हुदै जाने विश्वास व्यक्त गरे।
त्यसअघि उक्त प्रस्तावमाथिको छलफलमा लिदै राष्ट्रियसभा सदस्यहरुले संविधान र कानुनमा व्यवस्था भएबमोजिम सार्वजनिक स्थानमा हुने भेदभावलाई न्यूनीकरण गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गराउन माग गरेका थिए।
बैठकले संकल्प प्रस्तावलाई सर्वसम्मतले पारित गरेको छ भने संकल्प प्रस्तावमा रहेका विषयहरुलाई कार्यान्वयन गर्न बैठकले सरकारलाई निर्देशन दिएको छ। दलित समुदाय र व्यक्तिका नाम र थर नागरिकता र राहदानीमा अपमानजनक तरिकाले प्रयोग गरिएको पाइएकाले त्यसलाई तत्काल सच्याउन र उनीहरुले भोग्नुपरेको मानसिक क्षतिको उचित क्षतिपूर्ति दिन संकल्प प्रस्तावमा माग गरिएको छ।











