कोसी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नुहोस् : उद्धव थापा
थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेका हुन्। उनले शनिबार देउवा, आइतबार प्रचण्ड र सोमबार नेपाललाई भेटेका थिए।
विराटनगर, चैत ८ : नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सत्ता गठबन्धनका तीन शीर्ष नेतालाई भेटेका छन्।
थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेका हुन्। उनले शनिबार देउवा, आइतबार प्रचण्ड र सोमबार नेपाललाई भेटेका थिए।
थापाले तीनै शीर्ष नेताहरूलाई कोसी प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आग्रह गरेको जनाइएको छ। कोसीमा दुवै गठबन्धनले बहुमत पाउने अवस्था नरहेकाले निकास दिन नेताहरूलाई उनले आग्रह गरेको जनाइएको छ।
कोसीमा मध्यावधि निर्वाचन रोक्न दलहरु मिलेर जानुको विकल्प नभएको भनाइ उनले राखेको बताइएको छ।
कोसी प्रदेशसभा ९३ सदस्यीय छ। बहुमतका लागि ४७ मत आवश्यक पर्छ। तर प्रदेशमा तत्काल रहेको दुई गठबन्धनमा ४६–४६ सदस्य मात्रै छन्। सभामुखले सदनमा निर्णयक मत दिन पाउने भए पनि सरकार गठन प्रक्रिमा सहभागी हुन नपाउने अवस्था छ।
कोसी प्रदेशमा विपक्षी एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ सांसद छन्। सत्ता गठबन्धनमा कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, नेकपा एसका चार र जनता समाजवादी पार्टी (जसपा) को एक सांसद छन्। दुवै पक्षमा स्पष्ट बहुमत नभएका कारण केन्द्रबाट निकास निकाल्नुपर्ने अवस्था रहेको थापाले बताए।
भेटघाटमा दलका नेताहरुले छलफल गरेर निकास निकाल्ने आश्वासन दिएको बताइउको छ। सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी गर्ने, राप्रपालाई सत्ता गठबन्धनमा ल्याउने, एमालेसहित गठबन्धन दल आलोपालो नेतृत्व गरेर अगाडि बढ्नेलगायत विकल्पहरु प्रदेशमा रहेको बताइएको छ।











