Kathmandu Press

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा पाँच जना पक्राउ

उनीहरू चैत ५ गते बबरमहलबाट पक्राउ परेका हुन्। उनीहरूकाे समूहले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा पाँच जना पक्राउ

काठमाडौं, चैत ८ : तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा कचनकवलगाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटवाल, बबरमहल घर भई भक्तपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङ सुन्दर हरैंचा–३ घर भई ललितपुरको धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँको शुक्लागण्डकी–८ दुलेगौंडास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका २५ वर्षीय लोप्साङ थिन्ले र ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामा छन्।

उनीहरू चैत ५ गते बबरमहलबाट पक्राउ परेका हुन्। उनीहरूकाे समूहले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

लाइसेन्स र दर्ताबिना १० वर्षदेखि नै लेखापढी कानुनमा संलग्न कटवालले हिरालाल शिवाकोटीलगायतको सहयोगमा विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, विवाद दर्ता, सम्बन्धविच्छेद जस्ता सरकारी कागजात कीर्ते गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीको नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुआमाका रुपमा उपस्थित गराएर सनाखत गराई, साक्षी समेत नक्कली खडा गरार्ईे, नक्कली सिफारिस बनाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सक्कली नागरिकता उपलब्ध गराउने गरेको पाइएको छ। उनले कीर्ते कागजात तयार गरेर तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएवापत प्रतिव्यक्ति ३ देखि ५ लाख लिने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका न्युल्केस श्रेष्ठलाई कटवालले मिङछुङ शेर्पा नामको नक्कली नागरिकता बनाइदिएका थिए। श्रेष्ठले तिब्बती शरणार्थी सोनाम छोडेन, टासी शेर्पा, नाम्से शेर्पालगायतको नागरिकता बनाउन नक्क्ली बाबु बनेर सहयोग गरेको खुलासा भएको प्रहरीको भनाइ छ। नागरिकता बनाएबापत प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँ रकम लिएर तिब्बती शरणार्थीहरुलाई नागरिकता बिक्री गरेको खुलेको छ। 

तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता बनाउने काममा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीको समेत संलग्नता देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। 

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्