वैदेशिक रोजगारीमा रहेकालाई पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु
काठमाडौंमा आज (बुधबार) आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो योजना सुरु गरेका हुन्। दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका पति गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर योजना सुरु गरे।
काठमाडौं, चैत ८ : सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेकालाई लक्षित गरी पेन्सनसहितको सुविधा पाउने गरी सामाजिक सुरक्षा योजना सुरु गरिएको छ।
काठमाडौंमा आज (बुधबार) आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो योजना सुरु गरेका हुन्। दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका पति गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर योजना सुरु गरे। अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आवेदन दिन पाउने बाटो खुला भएको छ।
प्रधानमन्त्री दाहालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पाँच वर्षे रणनीतिक योजना पनि सार्वजनिक गरे, जसमा मन्त्रालयले कसरी काम गर्ने र कसरी परिणाम निकाल्ने भन्ने मार्गचित्र रहेको जनाइएको छ।
श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत यो कार्यक्रममा सहभागी हुन सक्ने सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले जानकारी दिए।
त्यसका लागि हरेक कम्तीमा महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ। अधिकतम २८ हजार १ सय ५५ रुपैयाँसम्म कोषमा योगदान गर्न सकिने पनि जनाइउको छ। यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने डा. जोशीले जानकारी दिए । खल्ती, इसेवा र कनेक्ट आइपिएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ।
यसरी योगदान गर्नेलाई १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम पाइनेछ।
वैदेशिक रोजगार समय अवधि सकिएपछि एकमुस्ट रकम वा पेन्सन सुविधा पाइनेछ । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ । विदेशमा गएका श्रमिकले अनलाइनबाट नै आवेदन दिई आफैं सूचीकृत हुनुपर्ने उनले बताए। ह्वाट्स एप र भाइबर ग्रुपमा जोडिएर पनि सूचना लिन वा जिज्ञासा राख्न सकिने र त्यसका लागि चौबिसै घन्टे सेवा दिनेगरी कल सेन्टर स्थापना गरिएको डा. जोशीले जानकारी दिए ।
यो योजनाबाट वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास गरिएको छ। वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ।
कोषमा हालसम्म औपचारिक क्षेत्रका ३ लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन्। कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ। कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ। २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो।











