Kathmandu Press

एआइजी ज्ञवालीका लागि जन्ममिति तगारो, छानबिनका लागि गृहलाई अख्तियारको निर्देशन 

ज्ञवालीको प्रहरी भर्ना हुँदाकाे योग्यतामाथि प्रश्न उठाउँदै छानबिनका लागि अख्तियार दुरूपयाेग अनुसन्धान आयोगमा उजुरी परेको थियो। मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णय अनुरुप ज्ञवालीसहित नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका थिए। 
एआइजी ज्ञवालीका लागि जन्ममिति तगारो, छानबिनका लागि गृहलाई अख्तियारको निर्देशन 

काठमाडौं, चैत ८ : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीका लागि उमेर विवाद टाउको दुखाइ भएको छ।

ज्ञवालीको प्रहरी भर्ना हुँदाकाे योग्यतामाथि प्रश्न उठाउँदै छानबिनका लागि अख्तियार दुरूपयाेग अनुसन्धान आयोगमा उजुरी परेको थियो। मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णय अनुरुप ज्ञवालीसहित नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका थिए। 

मन्त्रिपरिषद् बैठकले डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरेको थियो। बढुवा भएकाहरूमध्येबाट एक जना नयाँ प्रहरी महानिरीक्षक बन्नेछन्। बढुवाको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर छन्। कुँवरसँगै महानिरीक्षकको चर्चामा रहेका ज्ञवालीलाई उमेरको योग्यताले बाधा पर्ने देखिएको छ। अख्तियारमा परेको उजुरीमा फरकफरक जन्ममिति भएको तथा २५ वर्ष नाघिसकेपछि प्रहरी सेवामा प्रवेश गरेको दाबीसहित भ्रष्टाचारमा छानबिन गर्न माग गरिएको छ। 

अख्तियार उच्च स्रोतका अनुसार एआईजी ज्ञवालीको उजुरीमा छानबिनका लागि गृह मन्त्रालयलाई अख्तियारी प्रदान गर्दै चाँडो निष्कर्षमा पुग्न निर्देशनसहितको परिपत्र गरेको छ। ‘प्रहरी सेवामा भर्ना हुँदा २५ वर्ष नाघेको, फरकफरक जन्ममिति रहेकोजस्ता प्रश्न उजुरीमा थिए। चाँडो छानबिन सम्पन्न गरी प्रतिवेदनसहित जानकारी अख्तियारमा पठाउन मंगलबार गृहमा परिपत्र भएको छ,’ अख्तियार स्रोतले काठमाडौं प्रेसलाई भन्यो, ‘गृहको निष्पक्ष छानबिनपछि वास्तविकता थाहा हुनेछ।’  

प्रहरी नियमावलीअनुसार पूरा विवरण भएको प्रमाणपत्रलाई आधार मानेर उमेर गणना हुने व्यवस्था छ। ज्ञवालीको जन्म मितिको पूरा विवरण शैक्षिक प्रमाणपत्रमा रहेको र जन्ममिति २०२५ भदौ २६ गते जनिएको दाबी उजुरीमा छ। उक्त जन्ममिति अनुसार प्रहरी निरीक्षकमा भर्ना हुँदा २५ वर्ष नाघिसकेको दाबी उजुरीमा छ।

प्रहरी नियमावली २०७१ ले २५ बर्ष कटेपछि प्रहरी निरिक्षकमा भर्ना हुन अयोग्य भनेको छ।नियमावलीअनुसार उमेरको विवरणमा दरखास्त फाराम दर्ता हुने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने योग्यता किटान छ। २०५० मंसिरमा प्रहरी निरीक्षकका लागि दरखास्त खुल्दा ज्ञवाली २५ वर्ष ३ महिना पुगिसकेको विवरणबाट देखिन्छ।

यही बिषयमा ज्ञवाली छानबिनमा तानिएका हुन्। यद्यपि ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा प्रहरी नियमावली २०४९ कार्यान्वयनमा थियो। त्यो नियमावलीमा छनोट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको हुनुपर्ने भनिएको छ।

यसलाई आधार मानिए ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा २५ बर्षभित्रै पर्छन्। किनभने २०४९ को नियमावली अनुसार उमेर गन्दा भर्ना हुने सालको वैशाखको १ गतेलाई आधार मान्नुपर्ने हुन्छ। तर कार्यान्वयनमा रहेको २०७१ को प्रहरी नियमावली अनुसार उमेरको हिसाव हुनुपर्ने दाबी उजुरीकर्ताको छ।

आइजिपी सिफारिस हुने बेलासम्म ज्ञवालीविरुद्धको उजुरी  नटुंगिए ‘नैतिकता’ को समेत प्रश्न खडा हुने देखिन्छ। छानबिनबाट अयोग्य ठहरिए एआइजिमा पहिलो नम्बरमा रहेका कुँवरलाई थप मार्गप्रशस्त हुनेछ।  

प्रकाशित मिति: १२:५४ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्