ककपिटको झ्याल बन्द नगर्ने नेपाल एयरलाइन्सका प्राविधिक कारबहीमा
गत शनिबार बेलुकी ८ बजे दिल्लीबाट फर्केको निगमको नाइनएन–अल्फा लिमा यांकी विमानको दायाँतर्फ ककपिट झ्याल विमानस्थलको एप्रोनमा रातभर खुल्लै रहेको घटनामा ग्राउन्डेड गरिएको हो।
काठमाडाैं, चैत ६ : नागरिक उड्डयन प्राधिकरण नेपाल वायुसेवा निगमको विमानमा लापरवाही गर्ने आफ्ना प्राविधिकलाई काबारही गरेको छ। वाइडबडी विमानको ककपिटमा रहेको झ्याल बन्द गर्न बिर्सेका दुई प्राविधिकलाई ग्राउन्डेड गरिएको हो।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, गत शनिबार बेलुकी ८ बजे दिल्लीबाट फर्केको निगमको नाइनएन–अल्फा लिमा यांकी विमानको दायाँतर्फ ककपिट झ्याल विमानस्थलको एप्रोनमा रातभर खुल्लै रहेको घटनामा ग्राउन्डेड गरिएको हो।
प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले सोमबार उनीहरुलाई ग्राउन्डेड गरिएको जानकारी निगमलाई पठाएको छ।
निगममका ती दुई प्राविधिकले उडानबाट फर्केको जहाज एप्रोनमा पार्किङमा राखिएका बेला जाचँ गर्नुपर्ने जिम्मेवारी थियो । तर, उनीहरूले झ्याल नै बन्द नगरी हिँडेको आइतबार बिहान ६ बजे उज्यालो भएपछि देखिएको थियो ।











