स्ववियु निर्वाचन : राजधानीका नौमध्ये चार–चार क्याम्पसमा अनेरास्ववियु र नेविसंघ विजयी

काठमाडौं, चैत ६ ः त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत काठमाडौं उपत्याकाका आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरूको पछिल्लो नतिजा अनुसार मत परिणाम सार्वजनिक भएका ९ वटा आंगिक क्याम्पसमध्ये चार वटा क्याम्पसमा कांग्रेस निकट नेविसंघ विजयी भएको छ भने चार वटामा एमाले निकट अनेरास्ववियुले जितेको छ । एउटामा मात्र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएको छ ।
मत परिणाम घोषणा भएकामध्ये त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा विजयी भएका छन् । ओझा ३३१ मतान्तरले विजयी भएका हुन् । उनले ९६२ मत पाए । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टले ६३१ मत पाएका छन् । यता ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्वियुका विराज अर्याल सभापतिमा विजयी भए । अर्यालले ६३५ मत ल्याइ विजयी हुँदा निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अजयकुमार मण्डलले ६०५ मत पाए ।
काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघका पुष्कर विक्रम शाही ६१९ मतसहित विजयी भए । निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रविन थापाले ३७६ मत पाए । बागबजारस्थित पद्मकन्या क्याम्पसको स्ववियु चुनावमा नेविसंघको प्यानल नै विजयी भयो । पिकेको सभापतिमा ज्योति पनेरुले अखिल क्रान्तिकारीका त्रिसना आले मगरलाई पराजित गरेकी छन् । महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुकी नोविना बस्नेत नेतृत्वको प्यानल नै विजयी भयो । बस्नेतले २१७ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेविसंघकी उम्मेदवार धनुष विश्वकर्माले १३३ मत ल्याइन् ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्ज मेडिकल क्याम्पसमा आनन्दकुमार सिंह नेतृत्वको अनेरास्ववियुको प्यानल नै विजयी भयो । सभापतिमा सिंहले ५८६ मत प्राप्त गरे । उनकी प्रतिस्पर्धी रहेकी नेविसंघकी उम्मेदवार अविशिखा न्यौपानेले ५८४ मत ल्याइन् ।प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल ५२ मतले विजयी भए । शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सुशान्त बस्नेत विजयी भएका छन् । बस्नेतले अनेरास्ववियुका मुना तिवारीलाई पराजित गरेका हुन् । यता महेन्द्ररत्न क्यापस ताहाचलमा सभापतिमा अनेरास्ववियुका ईश्वर थापा निर्वाचित भएका छन् ।
विद्यार्थी संगठनविचको विवाद र किचलोका कारण आयुर्वेद क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्श क्याम्पस मीनभवन, विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पस मा विवादका कारण निर्वाचन स्थगित भएको थियो । यी क्याम्पसमा चाँडै अर्को निर्वाचन गर्ने तयारी भइरहेको छ ।











