Kathmandu Press

रवि लामिछानेलाई राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय 

लामिछानेमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको हाे।
रवि लामिछानेलाई राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय 

काठमाडौं, चैत ६ : महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग मुद्दा नचलाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् । 
 
यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो।उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।  

लामिछानेमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए ।

महान्यायाधिवक्ताको कार्यालयले २०१५ मा लामिछानेले लिएको भनिएको राहदानी दुरूपयोग गरेको अध्यागमन विभागको रेकर्डबाट नदेखिएको बिषयलाई आधार मान्दै कारबाही नगर्ने निर्णय गरेको हो । यस्तै लामिछाने अमेरिकी नागरिक हुनुअघि वंशजको आधारमा नेपाली नागरिक नै रहेको र गैरआवासीय व्यक्ति सरह रहेको आधार पनि लिइएको छ । लामिछाने पूर्ण रुपमा विदेशी नागरिक नरही गैरआवासीय व्यक्तिका रुपमा अमेरिकामा बसेको निक्र्योल गरिएको छ । 

लामिछानेको अमेरिकी पासपार्ट हाल राहदानी र अध्यागमन विभागबाट रद्द भइसकेको र नेपाली नागरिकता पुनः प्राप्ति गरिसकेको अवस्थालाई निर्णयको अर्को आधार बनाइएको छ । सर्वोच्च अदालतले गत माघ १३ गते लामिछाने विदेशी नागरिक रहेको ठहरसहित सांसद पद खारेज गरेपछि उपप्रधान तथा गृहमन्त्री पदबाट राजिनामा दिएका थिए । त्यसलगत्तै जिल्ला प्रसासन कार्यालयमा निवेदन दिई २०५० सालमा लिएको पुरानो नागरिकता जगाएका थिए । 

लामिछानेविरुद्ध परेको जाहेरीमा जिल्ला प्रहरी परिसर काठमाडौंले पनि लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने रायसहित छानविन प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो । लामिछानेले झूटा विवरण पेश गरी नेपाली राहदानी लिई दुरूपयोग गरेको जाहेरीका आधारमा प्रहरी अनुसन्धान अघि बढेको थियो । 
 

 

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्