Kathmandu Press

सबै चुनौतीलाई सामना गर्दै गठबन्धन पाँच वर्षसम्म टिक्छ : माधव नेपाल 

वैशाख १५/२० तिरै यो अवस्था पुनः आयो भनेपनि अस्वाभाविक ठान्दिनँ । तर, त्यो अवस्था आउँदैन भन्नेमा विश्वस्त छु : माधव नेपाल 
सबै चुनौतीलाई सामना गर्दै गठबन्धन पाँच वर्षसम्म टिक्छ : माधव नेपाल 

काठमाडौं, चैत ६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनअघि बनेको गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । 

सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष नेपालले राष्ट्रका अगाडि रहेका सबै चुनौतीहरुलाई सामना गर्दै गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका हुन् ।

उनले प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्थाा आउनेबारेमा आफू  निश्चित रहेको पनि बताए । ‘राजनीतिको नाडी हामी पनि छाम्दै हिँडेका छौं । जुन कारणले समिकरण भत्किने गरेको छ त्यो कारणलाई नजिकबाट नियालिरहेको थियौं । यो अवस्था आउने निश्चित छ भन्ने कुरा मलाई लागेको थियो,’ उनले भने ।  

प्रधानमन्त्रीले दुई महिनामै दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जाहेर गरेको आशंकाको खण्डन गर्दै अध्यक्ष नेपालले त्यस्तो अवस्था आउन नदिन गठबन्धनका दलहरु एकमत रहेको बताए ।

‘वैशाख १५/२० तिरै यो अवस्था पुन आयो भनेपनि अस्वाभाविक ठान्दिनँ । तर, त्यो अवस्था आउँदैन भन्नेमा विश्वस्त छु । अब यो गठबन्धन आउने पाँच वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकासको बाटोमा अगाडि बढाएर लैजान्छ, राष्ट्रका सामू सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ,’ उनले भने । 

अध्यक्ष नेपालले राजनीतिक दलका नेताहरुले अरुलाई दोष दिनुभन्दा आफूबाट के कमिकमजोरी भयो भन्ने कुराको खोजी गर्नुपर्ने बताए ।

‘आफूबाट के कमीकमजोरी भयो भन्ने कुराको खोजी गर्ने होइन ।  त्यसलाई स्वीकार गर्ने होइन । सुधार्ने होइन होइन। अरुलाई दोषारोपण गर्ने कुरालाई केन्द्रीत हुने गरेको छ । यो प्रवृृृत्तिलाई कायम राख्ने हो भने कहिल्यै पनि राजनीति सही दिशामा जान सक्दैन । राजनीतिलाई सही दिशामा लाने हो भने प्रत्येकले आफ्नो काम व्यवहारको बारेमा आत्मसमीक्षा गर्नुपर्दछ । किन अरुसँग सहकार्य सहकार्य हुनसकिरहेको छैन । किन कसैसँगको सहकार्य पनि टिकाउ हुन सकिरहेको छैन । यसको कारण अरु दोष कि आफै दोषी हो ?’ उनले प्रश्न गरे ।  
  
 

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्