यति चाँडै विश्वासको मत लिनुपर्छ जस्तो लागेको थिएन : प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले भने,‘सरकार बनेको २ महिना नपुग्दा विश्वासको मत फिर्ता लिने निर्णय बारे निर्णयकर्ताले नै जवाफ दिनुपर्छ।’
काठमाडौं, चैत ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यति छिटो विश्वासको मत लिनुपर्नेबारेमा आफूले नसोचेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधामन्त्री प्रचण्डले राजनीतिक स्थायित्व र वाचासहित सरकार बनाइएपनि आफूले यति चाँडै पुनः विश्वासको मत लिनुपर्छ भनेर नसोचेको बताएका हुन् ।
‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन । राष्ट्रपतिमा मैले राष्ट्रिय सहमतिको प्रस्ताव गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिए,’ प्रधानमन्त्री प्रचण्डले भने,‘सरकार बनेको २ महिना नपुग्दा विश्वासको मत फिर्ता लिने निर्णय बारे निर्णयकर्ताले नै जवाफ दिनुपर्छ।’
प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपा अस्थिरतातर्फ गएको पनि बताए । ‘सरकारको गलत कामका कारण हामीले समर्थन फिर्ता लियौं भनेर चाहिँ उहाँहरुले अहिलेसम्म भन्नुभएको छैन। एमाले र राप्रपा अस्थिरता तर्फ जानु चिन्ताजनक विषय हो,’ उनले भने ।











