चितवन २ उपनिर्वाचन : कांग्रेसबाट उम्मेदवारका लागि सिफारिस गरिएका ११ जना काेकाे हुन्?
चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरिसकेकाे छ।
चितवन, चैत ६ : चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १२ गते उपनिर्वाचन हुँदैछ। जसका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बन्न आकांक्षा राख्नेमध्ये ११ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरिएको छ।
नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं. २ चितवनको पदाधिकारी बैठकले ११ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको जनाइएको छ। नाम सिफारिस गरिनेमा उमेश श्रेष्ठ, राजेश्वर खनाल, जितनारायण श्रेष्ठ, देवेन्द्र गुरूङ, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ छन्।
उमेश श्रेष्ठ गत निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए। राजेश्वर खनाल जिल्ला पार्टी सभापति हुन् भने जितनारायण श्रेष्ठ यसअघिका जिल्ला सभापति हुन्।
चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरिसकेकाे छ। यसअघि सो क्षत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए। तर नागरिकता विवादमा उनको पद खारेज भएपछि उक्त संसदविहीन बनेको उक्त क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो।
त्यहाँ रास्वपाबाट फेरि रवि लामिछाने नै उठ्ने सम्भावना छ भने एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, कालिका नगरपालिकाका निवर्तमान मेयर गोपी श्रेष्ठमध्ये एक जना उम्मेदवार बन्ने चर्चा छ। माओवादी भने आफ्नो उम्मेदवार उठाउने वा अन्य उम्मेदवारलाई सहयोग गर्ने भन्ने टुंगोमा पुगिसकेको छैन।
बैठकले चितवन क्षेत्र नं २ बाट विविध कारणले पार्टीको कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ।
कांग्रेस पूर्वजिल्ला सभापति विकास कोइराला, महासमिति सदस्य मीना खरेल, पूर्वसांसद् जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्वसचिव आनन्द राउतसहितका नेता कार्यकर्ताको कारवाही फुकुवाका लागि माथिल्लो निकायमा अनुरोध गरी पठाउने निर्णय भएको बताइएको छ।











