एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने
नयाँ बानेश्वरस्थित संसद भवनकाे ल्होत्से हलमा बसेकाे एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताएका हुन्।
काठमाडौं, चैत ६ : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत नदिने भएको छ।
नयाँ बानेश्वरस्थित संसद भवनकाे ल्होत्से हलमा बसेकाे एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताएका हुन्।
‘प्रधानमन्त्रीमाथि विश्वास छ भन्ने गठबन्धनका स्वार्थीहरुले भोट देलान्। हामीलाई स्वार्थ पनि छैन। झुक्नु पनि छैन । हामीलाई उहाँप्रति विश्वास छैन,’ उनले भने, ‘हार जित जे भए पनि एमालेले विश्वासको मत दिँदैन। प्रचण्डका अविश्वसनीय कदम, षडयन्त्र र चालबाजी हेरेर पनि विश्वास छैन। त्यसकारण विश्वासको मत दिन सक्दैनौं।’
प्रचण्डले एमालेलाई कमजोर पार्ने, मुलुकको अर्थतन्त्र ध्वस्त बनाउने, जनतामा अनेकता ल्याउने र वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाउने काम गरिरहेको आरोप पनि ओलीले लगाए।
बैठकमा ओलीले माओवादीमा अरु नेताको कुनै दोष नभए पनि प्रचण्डले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको र हिजो चुनावी तालमेल गरेपछि सरकार बनाउन नचाहेको र पार्टी एकता गरेपछि टिक्न नदिएको आरोप लगाए।
एमालेसँग मिलेर प्रधानमन्त्री भएकै प्रचण्डले भोलिपल्टबाट बेइमानी सुरु ग गरेको उनले बताए। प्रचण्डले दक्षिणपन्थी सरकार बनाएर राष्ट्रिय हितलाई कमजोर बनाएको पनि उनले बताए।
आज (आइतबार) दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्।











