पाँच डीआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपाल प्रहरीमा तीस वर्षे सेवा अवधि कायमै रहे वर्तमान प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह चैत ११ गतेबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि यी पाँच एआइजीहरुबाटै आइजिपी चयन हुनेछन् ।
काठमाडौं, चैत ६ : सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृहले डीआइजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजी बढुवाका लागि सरकारलाई सिफारिस गरेको थियो ।
डीआइजी कुँवर एक नम्बरमा एआइजी बढुवा भएका छन् । यसले प्रहरी महानिरीक्षकको रेसमा उनी पहिलो प्राथमिकतामा पर्नेछन्। नेपाल प्रहरीमा तीस वर्षे सेवा अवधि कायमै रहे वर्तमान प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह चैत ११ गतेबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि यी पाँच एआइजीहरुबाटै आइजिपी चयन हुनेछन् ।
भावी आइजिपीका प्रवल दाबेदार मानिएका डिआइजी अशोक सिंहले दोहोरो जन्ममितिको विवादका कारण राजीनामा दिएका कारण कुँवरलाई नै भावी आइजिपीका रुपमा हेरिएको छ ।











