Kathmandu Press

स्ववियुको निर्वाचनमा झडप भएपछि बाजुराकाे काेल्टी बजारमा निषेधाज्ञा जारी

स्ववियुको निर्वाचनका क्रममा बुढीनन्दा क्याम्पसका प्रतिस्पर्धी विद्यार्थी संगठनहरुबीच झडप भएर कोल्टी बजार नै तनावग्रस्त भएपछि सोमबार बिहानसम्मका लागि निशेषज्ञा जारी गरिएको हो ।
स्ववियुको निर्वाचनमा झडप भएपछि बाजुराकाे काेल्टी बजारमा निषेधाज्ञा जारी

बाजुरा, चैत ५ : जिल्ला प्रशासन कार्यालय बाजुराले काेल्टी बजारमा निषेधाज्ञा जारी गरेकाे छ। स्ववियुको निर्वाचनका क्रममा बुढीनन्दा क्याम्पसका प्रतिस्पर्धी विद्यार्थी संगठनहरुबीच झडप भएर कोल्टी बजार नै तनावग्रस्त भएपछि सोमबार बिहानसम्मका लागि निशेषज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पुुष्कर खड्काका अनुसार स्थिति नियन्त्रणबाहिर जाने अवस्था भएपछि बुढीनन्दा नगरपालिकाको वडा नम्बर १ र २ मा निषेधाज्ञा जारी गरिएको हो ।

‘बजार क्षेत्रमा पनि ढुंगामुढा प्रहार एउटा मोटरसाइकलमा समेत आगजनी भएपछि अवस्था असामान्य भएको हो,’ प्रजिअ खड्काले भने । अहिले कोल्टीमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

विद्यार्थीहरुबीच झडप भएपछि अवस्थालाई नियन्त्रणमा लिन दिउँसो प्रहरीले २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो ।

उक्त क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुुको प्यानल र नेपाली कांग्रेस-एकीकृत समाजवादी-माओवादी केन्द्र निकट तीनवटा विद्यार्थी संगठनहरुको संयूक्त प्यालनबीच चुनावी प्रतिस्पर्धा भएको छ ।

झडप भएपछि मतदान स्थगित गरिएको छ ।

प्रकाशित मिति: २०:५१ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्