Kathmandu Press

कृषि अनुदान कटौती, सहकारीमा डुबेकाे रकम, दूधकाे मूल्यवृद्धिलगायत विषयमा सरकारकाे ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले बझाङमा एकै परिवारका सात जनाको निधन भई प्रधानमन्त्री, गृहमन्त्रीलगायतले अवलोकन गरी बाढी प्रभावित क्षेत्र घोषणा गरे पनि अझै राहतलगायत व्यवस्था नभएकाले छिटो गर्न माग गरे।
कृषि अनुदान कटौती, सहकारीमा डुबेकाे रकम, दूधकाे मूल्यवृद्धिलगायत विषयमा सरकारकाे ध्यानाकर्षण

काठमाडौं, चैत ५ : कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले बझाङमा एकै परिवारका सात जनाको निधन भई प्रधानमन्त्री, गृहमन्त्रीलगायतले अवलोकन गरी बाढी प्रभावित क्षेत्र घोषणा गरे पनि अझै राहतलगायत व्यवस्था नभएकाले छिटो गर्न माग गरे।

सांसद महेश बर्तौलाले मलमा दिएको अनुदान कटौती गर्दा किसानमाथि ज्यादती भएको, सुकुम्बासीले लामो समयदेखि जग्गाधनी पुर्जा पाउन नसकेकाले सरकारको ध्यान जानुपर्ने बताए।
  
सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुरेमा २०७१ साउनमा गएको पहिरो पीडितलाई सङ्कलन भएको रू दुई करोडभन्दा बढी राहत वितरण नगरी राखिएकाले छिटो दिन सरकारको ध्यानाकर्षण गराए।
  
सांसद मङ्गलप्रसाद गुप्ताले जनताको रू १६ अर्बभन्दा बढी पैसा सहकारीमा डुबेकाले व्यवस्थापन गर्न माग गरे। सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्लाको एकमात्र क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीमाथि आक्रमण गरी धाँधली गरिएको बताउँदै फर्जी परिचयपत्र बनाएर गैर विद्यार्थीलाई मतदान गर्न लगाइएको कानुनी कारबाहीको माग गरे।
 
सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको क्रिकेट मैदानलाई पूरा गर्न ध्यानाकर्षण गराए। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पनि सुधार गर्न उनको माग थियो। सांसद रणकुमारी बलम्पाकीले सिन्धुलीको कमलामाई नदीले कटान गरी सयौँ घरमा क्षति पुगेकाले क्षतिपूर्ति दिन माग गरिन्।

सांसद रणेन्द्र बरालीले फागुनमा नेकपा ९एमाले०बाट निर्वाचित स्थानीय सरकारका प्रमुख उग्रनारायण यादवले जातीय विभेद हुने गरी भोज आयोजना गरेकाले कानुनी कारबाहीको हुनुपर्नेमा जोड दिए।
  
सांसद रमा कोइराला पौडेलले हालसम्म न्यून सङ्ख्यामा मात्र सामाजिक सुरक्षा कोषमा सहभागिता जनाइएकाले सबै उद्योग, प्रतिष्ठानलाई सूचीकृत गर्न माग गरे। सांसद राजकिशोर यादवले नागरिकता विधेयक कहाँ अड्किएको छ र कहिले आउँछ भनी प्रश्न गरे।
 
सांसद राजेन्द्रकुमार केसीले आर्थिक अवस्थालाई लयमा फर्काउन विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो। किसानले तरकारीको मूल्य नपाएर फालिरहेकाले राहत दिन माग गरे। 

सांसद रामकुमार राईले खोटाङ जिल्लाका विभिन्न स्थानमा १५ वर्षअघि सुरु गरिएको सडक अझै सम्पन्न नभई अवरुद्ध भएकाले छिटो काम गर्न माग गरे। सांसद रामहरि खतिवडाले राम्रो क्रिकेट मैदानको व्यवस्था गर्न माग गर्नुहुँदै सभामुखले पत्रकार बिक्रीमा छन् भनी दिएको अभिव्यक्तिप्रति सञ्चार क्षेत्रको आलोचना आएकामा सभामुखको ध्यान गएको छ कि छैन भनी प्रश्न राखे।
 
सांसद रामकृष्ण यादवले मल र दूधको मूल्यवृद्धि घटाउन सरकारसँग माग गर्नुभयो। सांसद रुपा जोशी चौधरीले कर्णाली नदी टीकापुर बस्तीमा छिर्नसक्ने सम्भावना भएकाले बेलैमा व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो।
  
सांसद रोशन कार्कीले वित्तीय संस्थाको चर्को ब्याजदरका कारण लाखौँ नेपाली जनता सुकुम्बासी हुने अवस्थामा पुगेकाले सरकारको ध्यान जानुपर्ने बताउनुभयो। सांसद लीलानाथ श्रेष्ठले कृषि क्षेत्रमा दिएको अनुदानमा कटौती गरी मूल्यवृद्धि गरिएकाले ठोस काम गर्न माग गर्नुभयो।

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्