सभामुखले पत्रकारमाथि लगाएको आरोपबारे सांसद खतिवडा र सुवालले उठाए प्रश्न
चैत ३ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको भनी गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए।
काठमाडौं, चैत ५ : कांग्रेस सांसद रामहरि खतिवडाले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि लगाएको गम्भीर आरोपबारे प्रश्न उठाएका छन्।
प्रतिनिधि सभाको आज (आइतबार) बसेको बैठकमा उनले भने, ‘सम्माननीय सभामुख पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिका प्रमुखले नै यस्तो अभिव्यक्ति दिंदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन? त्यतातिर पनि ध्यान जाओस्।’
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले पनि सभामुखको अभिव्यक्ति सार्वजनिक महत्वको विषय हुने भन्दै ध्यानाकर्षण गरे। उनले सभामुखको अभिव्यक्तिलाई लिएर संसदले छानबिन समिति बनाउनुपर्नेमा जोड दिए।
चैत ३ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको भनी गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए। ‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन,’ उनले भनेका थिए, ‘पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ। जेजे कारणले भए पनि तिनीहरु प्रभावित छन्। अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु।’
उनको यो अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेपछि सभामुखले प्रेस जगत्माथि प्रहार गरेपछि नियोजित रुपमा यस्तो कार्य भइरहेको भनेर सरोकारवालाहरूले टिप्पणी गर्न थालेका छन्।











