Kathmandu Press

‘सरकारले खेलाडीलाई एक दुई लाख नगद होइन चितवनको स्टेडियम बनाउनुपर्छ’

‘सरकारले खेलाडीलाई एक दुई लाख नगद होइन चितवनको स्टेडियम बनाउनुपर्छ’

काठमाडौं, चैत ५ : नेकपा एमालेका सांसद रघुजी पन्तले खेलाडीहरुलाई नगद पुरस्कार दिएर मात्रै मुलुकमा खेलाडी उत्पादन र खेलको विकास नहुने बताएका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले सरकारले क्रिकेट रंगशालाको निर्माण र विस्तार गर्नुपर्ने बताएका हुन् । उनले चितवनमा धुर्मुस सुन्तलीले बनाएको स्टेडियमलाई सरकारले निर्माण सम्पन्न गर्नुपर्ने बताए ।  

‘चितवनको  क्रिकेट स्टेडियम बेबारिसे अवस्थामा छ । त्यसलाई सरकारले तुरुन्त लिएर तिर्नुपर्ने पैसा तिरेर निर्माण सुरु गर्नुपर्यो,’ उनले भने, ‘त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको स्टेडियमलाई विस्तार गर्नुपर्यो र मूलपानीको स्टेडियम बनाउन पर्यो ।’

खेलाडीहरुले जितेको बेला मात्रै एकदुई लाख पुरस्कार दिने अरु बेला चुप लागेर बस्ने गरेको भन्दै पन्तले सरकारको आलोचना गरे । ‘खेलाडीहरुसँग अपेक्षा गर्ने, खेलाडीहरुले यसो जितेको एक दुई लाख पुरस्कार घोषणा गर्ने अघिपछि कानमा तेल हालेर बस्ने,’ उनले भने । खेलाडी जन्माउने मुख्य कुरा भौतिक संरचना नै रहेको र त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उनले बताए ।   
 
उनले अगाडि भने, ‘महिला टोलीले सार्क बाट जितेर आए । महिला टोलीका लागि एउटा भलिबल स्टेडियम बनाइदेउ भनेर माग गरेको थियो । त्यसमा सरकारको चासो छैन । क्रिकेटमा हाम्रो सम्भावना छ, महिला भलिबलमा हाम्रो सम्भावना छ । फुटबलमा हाम्रो सम्भावना छ ।’ त्यसका लागि सरकारले रंगशाला निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । 
 

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्