प्रतिनिधिसभा बैठक : कांग्रेस सत्तापक्षीय बेन्चमा बस्दा एमाले प्रतिपक्षामा
मंसिर ४ मा सम्पन्न चुनावपछिको अधिवेशनमा एमाले सत्तापक्षमा बस्दै आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्दै आएको थियो।
काठमाडौं, चैत ५ : प्रतिनिधिसभाको आज (आइतबार) जारी बैठकमा एमाले विपक्षी बेन्चमा बसेको छ।
मंसिर ४ मा सम्पन्न चुनावपछिको अधिवेशनमा एमाले सत्तापक्षमा बस्दै आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्दै आएको थियो।
पुस ७ गते भएको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलहरु सत्तापक्षको बेन्चमा बसेका थिए। त्यसपछिका बैठकमा भने परिस्थिति फेरिएको थियो। पुस १० गते एमाले, माओवादी केन्द्रलगायत सातदलीय गठबन्धनबाट दाहालको नेतृत्वका सरकार बनेयता कांग्रेस प्रतिपक्षमा बस्दै आएको थियो।
राष्ट्रपति चुनावअघि नयाँ समीकरण बनेपछि एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिए। त्यसपछि पहिलोपटक आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षी बेन्चमा बसेको हो। राप्रपा पनि प्रतिपक्षी बेन्चमै बसेको छ।
कांग्रेस कार्यसम्पादन समितिको आजै बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने र त्यसअघि आज बस्ने बैठकमा स१ापक्षीय बेन्चमा बस्ने निर्णय गरेको थियो।
सोहीबमोजिम कांग्रेस सत्तापक्षीय बेन्चमा बसेको छ। यसअघि विपक्षी बेन्चमा बस्दै आएको नेकपा एकीकृत समाजवादी पनि कांग्रेससँगै प्रतिपक्षी बेन्चमा बसेको छ।
प्रतिनिधिसभामा सत्तापक्षको आसन सभामुखको बायाँतर्फ र प्रतिपक्षीको आसन दायाँतर्फ हुने गर्छ।











