ए डिभिजन लिग : जावलाखेललाई हराउँदै पुलिस चौथो स्थानमा उक्लियो
काठमाडौं, माघ ४ : नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार ....

काठमाडौं, माघ ४ : नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० ले पराजित गर्दै पुलिस क्लब लिग तालिकाको चौथो स्थानमा उक्लिएको हो।
सात खेलमा तीन जित, दुई हार र एक बराबरी खेलेको पुलिस ११ अंक जोड्दै चौथो स्थानमा उक्लिएको हो। आजै हुने अर्को खेलमा थ्री स्टार क्लब मनाङ मस्र्याङ्दीसँग बराबरीमा रोकिए वा पारजित भए पुलिस सातौं चरणको समाप्तीसम्म चौथो स्थानमै रहने छ।
शनिबार भएको खेलमा पुलिसलाई जित दिलाउन सौजन राई र सुमन सुवेदीले गोल गरे। जावलाखेलविरुद्ध पुलिसले दुवै हाफमा समान एक–एक गोल गरेको थियो। खेलको २६ औं मिनेटमा हेडिङमा गोल गर्दै सौजनले पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० को अग्रता लिएको पुलिसले दोस्रो हाफको सुरुवातमै गोल गर्दै अग्रता दोब्बर बनायो। खेलको ४७ औं मिनेटमा कप्तान सुमन सुवेदीले कर्नरमा हेडिङ गोल गरेका थिए। त्यसपछि दुवै टोलीबाट कुनै गोल नभएपछि पुलिस २–० ले विजयी भयो। जावलाखेलको भने लिगमा यो दोस्रो हार हो।
६ खेलबाट १३ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ। १३ अंक नै जोडेको मच्छिन्द्र क्लब दोस्रो स्थानमा छ। तर, आर्मीले एक खेल कम खेलेको छ।











