प्रेस जगतप्रति लाञ्छित अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन सभामुखलाई आग्रह
महासंघले आज (शनिबार) एक विज्ञप्ति जारी गरेर सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको बताएको छ।
काठमाडौं, चैत्र ४ : नेपाल पत्रकार महासंघको प्रेस जगतप्रति लाञ्छित अभिव्यक्ति सच्याउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ।
महासंघले आज (शनिबार) एक विज्ञप्ति जारी गरेर सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको बताएको छ।
‘संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र नवनिर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रमसहित हिजो (शुक्रबार) सभामुख देवराज घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर नेपाल पत्रकार महासंघले गरेको छ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद भएको महासंघको भनाइ छ। ‘नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गर्दा सचिवालयबाट सामान्य प्रस्टीकरणबाहेक उनको आधिकारिक धारणा आउन नसकेको महासंघले जनाएको छ।
महासंघले जननिर्वाचित संसद र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध भएको व्यवहारमा देख्न चाहेको र आफना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिती लिई चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखलाई महासंघले आग्रह गरेको छ।
सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभए महासंघ कानुनीलगायत अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनी पनि दिइएको छ।
महासंघको कार्यक्रममा पत्रकारहरू बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएपछि सभामुख घिमिरेको चौतर्फी आलोचना भइरहेको छ।












