तालाबन्दीका कारण विराटनगरका दुई क्याम्पसकाे स्ववियु निर्वाचन अन्याेलमा
अनेरास्ववियुको तालाबन्दीका कारण महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नेविसंघको तालाबन्दीका कारण नर्सिङ कलेजको (स्ववियु) निर्वाचन अनिश्चित बनेको हाे
विराटनगर, चैत ४ : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघले तालाबन्दी गरेपछि विराटनगरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रभावित हुने देखिएको छ।
अनेरास्ववियुको तालाबन्दीका कारण महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नेविसंघको तालाबन्दीका कारण नर्सिङ कलेजको (स्ववियु) निर्वाचन अनिश्चित बनेको हाे। नेविसंघले शुक्रबार बेलुका र अनेरास्ववियुले आज (शनिबार) बिहान ती कलेजमा तालाबन्दी गरेका हुन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोलि (चैत ५ गते आइतबार) स्ववियु निर्वाचन हुँदैछ।
अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले सम्बोधन हुने माग राखेर क्याम्पसमा तालाबन्दी गरिएको बताए मोरङका सबै कलेजमा शान्तिपूर्ण रुपमा चुनाव होस् भन्ने चाहे पनि प्राइभेट फ्याक्ल्टीका विद्यार्थीलाई धम्की दिने र ट्रान्सफर भइसकेका विद्यार्थीलाई पनि मतदाताको सूचीमा राखिएपछि महेन्द्र मोरङमा तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ। नेविद्यासंघले भने नर्सिङ कलेजमा विद्यार्थीलाई कलेज प्रशासनले धम्की दिएको भन्दै तालाबन्दी गरेको हो।











