Kathmandu Press
‘डाइटिङका नाममा थोरै खाए झनै समस्या निम्तिन्छ’ 
‘डाइटिङका नाममा थोरै खाए झनै समस्या निम्तिन्छ’ भोको बसेर दुब्लाइन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ। सन्तुलित खाना खाएर नियमित व्यायाम गरेर शरीरको तौल नियन्त्रण गर्न सकिन्छ। आवश्यकताभन्दा निकै कम खाना खाई डाइटिङ गर्दा थाहै नपाई स्वास्थ्य जटिलता पैदा हुन्।

काठमाडौं, चैत ४ : हिजोआज प्रायः नेपालीको खानपान शैली बिग्रिएको छ। खानपानमा लापरबाही गर्दा पछिल्ला केही वर्षयता नेपालमा मोटोपनाको समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्। आफूलाई तन्दुरुस्त राख्न वा आकर्षक शरीर बनाउन खानै नखाने वा शरीरलाई आवश्यक पर्नेभन्दा निकै कम खाने अथवा डाइटिङ गर्ने प्रवृत्ति मौलाएको छ।

खानै नखाई डाइटिङ गर्दा स्वास्थ्यमा जटिलता निम्तिने बताउँछिन् पोषणविद् उमा कोइराला। खाना खाएरै पनि वजन कम गर्न सकिने उनको भनाइ छ। स्वस्थ अनि तन्दुरुस्त रहन शरीरका लागि आवश्यक स्वस्थ र पोसिलो खानेकुरा खाने तर व्यायाम गरेर सन्तुलन कायम गर्नु नै उत्तम उपाय हुने भएकाले सबैलाई त्यसै गर्न उनी सुझाउँछिन्।

यस्तै मोटोपना, डाइटिङ र स्वस्थ–पोषणयुक्त खानेकोराका विषयमा केन्द्रित रहेर काठमाडौं प्रेसकर्मी शलिना कुँवरले पोषणविद् उमा कोइरालासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्सतु गरिउको छ।

हाम्रो शरीरमा खानेकुराले कस्तो भूमिका खेलिरहेको हुन्छ? 

खाना र पोषण हाम्रो शरीरका लागि नियमित रूपमा नभइनहुने कुरा हो। पोषणयुक्त खानेकुराबिना जीवन चल्नै सक्दैन। हाम्रो शरीर चोबिसै घन्टा चलिरहने यन्त्रजस्तै छ। श्वासप्रश्वास, रक्तसञ्चार, मलमूत्र त्याग, मांसपेसी वृद्धिजस्ता कुरा शरीरमा सुचारु भइरहेका हुन्छन्। 

रगतको काम शरीरका सबै भागमा अक्सिजन र पौष्टिक तत्व पुर्‍ याउनु हो। शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्व खानाबाटै प्राप्त हुन्छ। शरीरको नियमित सञ्चालनका लागि खाना आत्याश्यक हुन्छ। शरीरलाई रोगव्याधिबाट बचाउन पनि खानेकुराको अहं भूमिका हुन्छ । 

अहिले नेपालमा मोटोपनाको समस्या बढ्दो छ। आफूलाई फिट राख्न डाइटिङ गर्नेे प्रवृत्ति मौलाएको छ। भोको पेट बसेर मोटोपना कम गर्नु उचित हो र?

सबैभन्दा पहिले मोटोपनाबारे बुझौं। उचाइको अनुपातमा तौल बढी हुनु नै मोटोपना हो। मोटोपना बढ्नुका विभिन्न कारण छन्। खानेकुरा धेरै खाए, धेरै क्यालोरियुक्त खानेकुरा खाए, शारीरक व्यायाम नगरे मोटोपना बढ्छ। 

यसका अतिरिक्त शरीरभित्रका विभिन्न अंगमा गडबडी देखिए पनि मोटोपनाको समस्या देखिन सक्छ। वंशाणुगत गुणले पनि शरीरमा मोटोपना निम्त्याउँछ। मोटापना आफैंमा स्वास्थ्य समस्या हो। यसको अर्थ खाना नखाएर मोटोपना घटाउनुपर्छ भन्ने होइन। खाना कम खाएर दुब्लाउन सकिन्छ भन्नु अज्ञानताबाहेक केही होइन। शरीर घटाउन खाना नखाने प्रवृत्तिले शरीरलाई हानि गर्ने र अनेकन् समस्या निम्त्यउने गर्छ। 

uma koirala1679128755.jpg

खाना खाएर पनि मोटोपना कम गर्न सकिन्छ त? 

अवश्य सकिन्छ। तर के खाने, कस्तो खानेकुरा खाने र कति खाने भन्नेबारे बुझ्नु भने जरुरी छ। मोटोपनाको समस्या भएका व्यक्तिले अन्नजन्य पदार्थ (चामल, गहुँ, मकै आदि) बाट बनेका खानेकुरा कम खानुपर्छ। पेट पनि भरिने र जीउ पनि नलाग्ने खानेकुरा (हरियो सागपात, गेडागुडीको झोल आदि) प्रशस्त मात्रामा खाने गर्नुपर्छ। त्यस्तो खानेकुराले मोटोपनाको समस्या कम गर्न मद्दत पुर्‍ याउँछ। 

यसका अतिरिक्त मोटो मानिसले चिनी खानै हुन्न। कतिपय खानेकुराबाटै शरीरमा चिनीको आपूर्ति हुने गर्छ। सकेसम्म चिनीबाट टाढा रहँदा राम्रो हुन्छ। हामीले घरमै पकाउने सामान्य खानामा तोरीको तेल अथवा अतिकति घ्यू हालेर पकाउने गरिन्छ। त्यतिको चिल्लोपना खानु सामान्य हो तर यसका अतिरिक्त बजारमा राखेको तारेको खानेकुरा खायौं भने शरीरमा बोसोको मात्रा बढ्छ। 

मोटोपना छ भनेर पौष्टिक तत्वयुक्त खानेकुरा खाँदै नखाने भने होइन। पौष्टिक तत्व हाम्रो शरीरलाई नभइनहुने चिज भएकाले ख्याल गर्नुपर्ने हुन्छ। मोटोपनाको समस्याबाट ग्रसितहरूले बोसो नभएको प्रोटिनयुक्त (च्याउ, हरियो सागपात, गेडागुडीको झोल, फलफूल, आरुबखडा, स्ट्रवेरीजस्ता फलफूल) खानेकुरा खानुपर्छ। तर केरा, अंगुरजस्ता फलफूलमा चिनीको मात्रा बढी हुने भएकाले कम खानु नै उचित मानिन्छ। 

कुन समयमा कस्तो खानेकरा खाँदा उत्तम हुन्छ? 

बिहान दालभात, सागपात, दही आदि समेटिएको खाना खानुपर्छ। दिउँसो फलफूल खाने र राति हलुका खाना खाने गरे शरीर स्वस्थ रहन्छ । यसो गरे मोटोपना निम्तिँदैन। राति आराम गर्ने वा सुत्ने समय हो। आराम गरेको अवस्थामा हाम्रो पाचन प्रणाली एकदमै सुस्त हुन्छ। 

अन्य समय तीन घन्टामा खाना पचाउन सकिन्छ तर राति पाचन प्रणाली सुस्त हुने हुँदा खाना पचाउन शरीरलाई ६ देखि ७ घन्टासम्म लाग्छ। सकेसम्म रातिको खाना चाँडै खाँदा राम्रो हुन्छ। राति माछामासु, तारेको खानेकुरा नखानु नै वैज्ञानिक तवरले राम्रो मानिन्छ। 

खाना नखाई डाइटिङमा बस्दा के–कस्ता समस्या देखा पर्छन् ? 

आवश्यकता भन्दा निकै कम खाना खाई डाइटिङमा बस्दा स्वास्थ्यमा थाहै नपाई जटिलता देखा पर्छ। खाना खाएर शरीरको आवश्यकता पूरा गर्नु अनिवार्य हुन्छ। उदाहरणका लागि बारीमा मलजल गरेनौं भने बिरुवा फस्टाउँदैन र सुकेर जान्छ। हाम्रो शरीर पनि त्यस्तै हो। यसलाई सही पोषणको आवश्यकता पर्छ।

पोषणको अभावमा बालबालिका पुड्के, ख्याउटे हुने समस्या देखा पर्छ भने वयस्कहरुमा पनि खाना नखाई बसेमा पौष्टिक आहारको अभावमा ग्यास्ट्रिक, अल्सरजस्ता समस्या बढ्दै जान्छ। यस्तो अवस्थामा अन्य रोगहरू पनि निम्तिन बेर लाग्दैन। 

डाइटिङ नै नगरी शरीरको तौल नियन्त्रण गर्ने उपायहरू होलान् नि?

मोटोपना घटाउन सबैभन्दा पहिले त खानपानमा ध्यान दिनैपर्छ। अन्नभन्दा हरिया सागपात, गेडागेडी झोल र फलफूल (आरू, आलुबखडा, स्टङवेरीजस्ता कम गुलियो हुने फलफूल) पेटभरि खाँदा मोटोपना हुनबाट बच्न सकिन्छ। कुनै पनि खानेकुरा खाँदा एकैचोटि पेटभरि खानुको साटो पटकपटक थोरैथोरै खाने बानी बसाल्नुपर्छ।

यसका अतिरिक्त मोटोपना कम गर्न नियमित व्यायाम गर्न सकिन्छ। हामीले खाएको खानेकुरा पचाउन व्यायाम अत्यावश्यक हुन्छ। जो धेरै अफिसमा बसेर काम गर्छ, घरमा काम गर्दैन, त्यस्ता व्यक्तिहरूले खुला आकाशमुनि दैनिक करिब एक आधा घन्टा एक्लै अनि छिटोछिटो हिँड्ने गर्नुपर्छ।

बजारमा प्याकेटमा पाइने खानेकुरा चाउचाउ, चिप्स, बिस्कुट आदि र तारेका खानेकुरा समोसा, पकोडा कहिलेकाहीँ खाँदा केही फरक नपरे पनि दिनहुँ खाने बानी भने छुटाउनु नै उत्तम हुन्छ। तारेका खानेकुरा, रातो मासु, बढी चिल्लो खानेकुरा खाँदा शरीरमा बोसोको मात्र बढ्छ।

त्यसैले आफ्नो भान्सामा पाकेको खानेकुरा खाँदा राम्रो र स्वस्थ पनि रहने हुँदा हाम्रो परम्परागत खानालाई अंगीकार गर्ने बानी बनाउनुपर्छ। भोको बसेर दुब्लाइन्छ भन्ने भ्रमबाट मुक्त भएर सन्तुलित खाना खाए र नियमित व्यायाम गर्न सके वजन कम गर्न सकिन्छ। खानै छाड्ने तरिका भने कुनै हालतमा राम्रो होइन।

प्रकाशित मिति: १४:२१ बजे, शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्