‘नागरिकका अपेक्षाप्रति सजग छु’
राष्ट्रपति पौडेलले शासन सञ्चालन गर्दा जनप्रतिनिधिहरुले संविधान र कानुनको मर्म र भावनालाई अंगीकार गर्नुपर्ने बताए।
काठमाडौं, चैत ४ : राष्ट्रपति रामचन्द्र पौडेलले आफू नागरिकका अपेक्षाप्रति सजग रहेको बताएका छन्।
शनिबार शितल निवसमा सांसदहरुका लागि आयोजना गरिएको चियापान कार्यत्रममा सम्बोन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहेको बताए ।
‘संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु,’ राष्ट्रपति पौडेलले भने, ‘संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहान्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुरा प्रति सदैव सजग रहने प्रण गर्दछु ।’
उनले संविधानले तमाम जनतालाई असीम अधिकार प्रदान गरेको बताउँदै यसको जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिनु सबैको परम कर्तव्य भएको उल्लेख गरे । पटक–पटकका नयाँ प्रयोग नेपालले थाम्न पनि सहज नहुने राष्ट्रपति पौडेलको भनाई थियो ।
राष्ट्रपति पौडेलले शासन सञ्चालन गर्दा जनप्रतिनिधिहरुले संविधान र कानुनको मर्म र भावनालाई अंगीकार गर्नुपर्ने बताए।
‘निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म र भावनालाई अंगिकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा तपाईं हामी सबै सचेत हुनुपर्छ’ उनले भने, ‘लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्थाहरु बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ हामी सजग रहन जरुरी छ ।’
उनले मुलुकमा अहिले पनि थुप्रै चुनौतीहरु रहेको बताए । उनले कोभिड माहामारीपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको उल्लेख गरे।
संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखापर्न थालेका असरहररुको न्यूनिकरण तथा राजनैतिक उपलब्धिहरुको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताए।
राष्ट्रपति पौडेलले प्राप्त राजनैतिक उपलब्धिलाई सदुपयोग गर्दै तिव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ हामी सबै गम्भिर हुन आवश्यक उल्लेख गरे।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनालगायतका सरकारी अधिकारीहरू र दलका नेताहरू पनि सहभागी थिए।