Kathmandu Press

सार्वजनिक बस व्यवस्थापनमा महानगरलाई सकस

सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि महानगरले गोंगबुस्थित विष्णुमति खोला किनारामा झण्डै दुई हजार सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन्।
सार्वजनिक बस व्यवस्थापनमा महानगरलाई सकस


काठमाडौं, चैत ४ : मुलुकको संघीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई सर्वाजनिक बस व्यवस्थापनमा सकस परेको छ।

देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोंगबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो। पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन।

काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले वि.सं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस व्यवस्थापनमा सकस भएको हो।

विशेषगरी अहिले काठमाडौंबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोंगबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन्।

गोंगबुदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन्।

ट्राफिक प्रहरीले काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन्।  

जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलंकी र हेटौँडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन्।

1554688159public_bus1679115536.jpg

सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौं महानगरपालिकाले वडा नं २६ गोंगबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन्।

काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौँ महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन्।

‘महानगरले लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन पार्किङका लागि नयाँ बसपार्कमा १६१ रोपनी जग्गा उपलब्ध गराएको छ, सबै सवारी साधन बसपार्कभित्रबाट सञ्चालन हुनुपर्छ’, उनी भन्छन्।

बसपार्कमा सवारी साधन नअटाए त्यसको विकल्प खोजिने उनको भनाइ छ । महानगरपालिकाभित्रको ट्राफिक जाम घटाउन र निजी सवारी साधन पार्किङका लागि महानगरले आवश्यक अध्ययन गरिरहेको उनले बताए।

हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन्।

काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन्। चक्रपथ वरपरका ठाउँमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले उच्च निगरानी राखी कारबाही गर्दै आएको उनले बताए।

पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

प्रकाशित मिति: १०:४१ बजे, शनिबार, चैत ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्