सद्भावनाबाट राजनीति थालेका रामसहाय जसपाबाट उपराष्ट्रपति
संघीय संसद भवनको ल्होत्से हलमा आज (शुक्रबार) भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभार ल्याएर उपराष्ट्रपति बनेका हुन्।
काठमाडौं, चैत ३ : मुलुकको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। संघीय संसद भवनको ल्होत्से हलमा आज (शुक्रबार) भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभार ल्याएर उपराष्ट्रपति बनेका हुन्।
सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा रहेका उनी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गगरे। उनकै पार्टीबाट प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार थिइन् तर उनले रामसहायलाई समर्थन गर्दै आफ्नो आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसकेकी थिइन्। तर पनि उनले प्रदेशसभाबाट एक मत पाइन्।
उनकै दल जसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिए। एमालेकी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिए। उनले १६ हजार ३२८ मतभार पाइन्।
जनमतकी झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए। उनले २ हजार ५ सय ३७ मतभार पाइन्।
शब्दचित्रमा रामसहायप्रसाद यादव
उनी २०२७ साउन ९ गते बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरिया (साबिकको कचोर्वा गाविस ८) मा माता सिहवादेवी यादव र पिता स्व। प्रसादराय यादवको कोखबाट जन्मिएका हुन्। उनका उनका पत्नी, दुई छोरा, एक छोरी, एक दाजु र तीन दिदीबहिनी छन्।
ठाकुर राम बहुमुखी क्याम्पस वीरगन्मबाट गणितमा बिएड गरेका उनले भारतको मजफ्फपुरस्थित डा. बाबासाहेब भिमराव अम्बेडकर विश्वविधालयबाटगणित र विज्ञानमा बिएस्सीसम्मको गरेका छन्। २०४८ सालमा शिक्षण पेसामा प्रवेश गरेका उनी २०६४ सालसम्म सो पेसामा रहे। शिक्षकबाट राजीनामा दिएपछि उनी पूर्ण रूपमा सामाजिक गतिविधिमा लागे। २०४६ देखि २०५२ सालसम्म सरस्वती नवयुवक क्लबको अध्यक्ष रहेका उनी शिक्षा समिति बाराको सदस्य पनि भए।
उनको राजनीतिक जीवन भने शिक्षण पेसामा लाग्नुअघि नै सुरू भएको थियो। उनी २०४७ सालमा नेपाल सदभावना पार्टीमा आबद्ध भएका हुन्। उनी सोही पार्टीको नेपाल शिक्षक मञ्च बाराका संस्थापक अध्यक्ष पनि बने। मञ्चको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीसमेत वहन गरेका उनी २०५० सालमा सम्पन्न नेपाल सदभावना पार्टीको तेस्रो महाधिवेशनमा पर्यवेक्षक भएर वीगन्ज गएका उनी चौथो महाधिवेशनमा प्रतिनिधि भएर विराटनगर गए।
२०५७ सालमा तत्कालीन संविधानमा भएको नागरिकतासम्बन्धी व्यवस्था र नागरिकता विधेयकविरुद्ध काठमाडौंमा भएको प्रदर्शनमा गिरफ्तारीमा पनि परेका थिए। २०५९ सालमा राजविराजमा सम्पन्न सदभावना पार्टीको पाँचौं महाधिवेशन पनि उनी प्रतिनिधि बने। उनी पार्टी एकता कायम राख्न सप्तरी सेवा आश्रममा आमरण अनशन पनि बसे। सद्भावना पार्टीकी नेत्री आनन्दी देवीले उनलाई अनशन तोड्न लगाएकी थिइइन् । आनन्दी देवीको नेतृत्वमा बनेको नेपाल सदभावना पार्टी (आनन्दीदेवी) गठन भयो। उनी पनि त्यतै मोडिए। तर पार्टी विभाजनप्रति असन्तुष्ट उनी सो पार्टीमा लामो समय टिकिरहन सकेनन्।
उनी २०५९ सालमा उपेन्द्र यादवको नेतृत्वमा स्थापना भएको मधेसी जनअधिकार फोरममा आबद्ध भए। उनी २०६० फागुन ७ गते सो फोरमको बारा संस्थापक संयोजन अध्यक्ष भए। उनी २०६० सालमा फोरमका केन्द्रीय सदस्य भए। २०६२/६३ को जनआन्दोलमा सक्रिय सहभागिता जनाएका उनी काठमाडौंमा गिरफ्तार भए। सोही आन्दोलनताका उनले मधेस जनविद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्व गरेका थिए। त्यसक्रममा पनि उनी ५-६ पटक गिरफ्तारीमा परे।
२०६४ सालमा मधेसी जनअधिकार फोरम नेपाल निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि सोही पार्टीको केन्द्रीय सदस्य रहेको अवस्थामा २०६४ सालको पहिलो संविधान सभामा संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य भए। २०६५ सालमा पार्टी महासचिवको जिम्मेवारी पाएका उनी पहिलो संविधानसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिका सदस्य भए। उनी २००९ सालमा भएको संयुक्त राष्ट्रयसको महासम्मेलनमा न्युयोर्कमा प्रतिनिधि मण्डलको सदस्यमा सहभागी भएका थिए।
२०७२ सालमा मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीबीच एकीकरण भई गठन भएको संघीय समाजवादी फोरममा पनि उनी महासचिवको भूमिकामा रहे। २०७४ सालमा उनी बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। २०७४ सालमा पोल्यान्डमा भएको रास्ट्रपतिको उच्चस्तरीय प्रतिनिधि मण्डलको भ्रमणमा उनी पनि सहभागी भए। २०७५ सालमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भई गठन भएको समाजवादी पार्टीमा उनी महासचिव रहे।
२०७६ सालमा समाजवादी पार्टी र रास्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति सदस्य भएका उनले २०७८ सालमा वन तथा वातावरण मन्त्री बन्ने अवसर पाए। २०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृवमा उच्चस्तरीय प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्रीको हैसियतमा सहभागी भई जलवायुसम्बन्त्री अन्तर्राष्ट्रिय सम्मेलनमा गएका थिए।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा २ बाट उनी निर्वाचित भएका हुन्। त्यसपछि उनी जसपा संसदीय दलको नेता रहँदै आएका थिए। पार्टी तथा सरकारको प्रतिनिधि भई उनले अमेरिका, पोल्यान्ड, चीन, बेलायत, स्कटल्यान्ड, इङल्यान्ड, बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स) लगायत देशको भ्रमण गरेका छन्।











