Kathmandu Press

मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा रहेका उनी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौं, चैत ३ : मुलुकको तेस्रो उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा आज (शुक्रबार) बिहान १० देखि दिउँसो ३ बजेसम्म भएकाे निर्वाचनले रामसहायलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको हो।  उपराष्ट्रपतिमा निर्वाचित हुन उनले ३० हजार ३२८ मतभार ल्याए।

उनकै दल जसपा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिए। एमालेकी अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिए। उनले १६ हजार ३२८ मतभार पाइन्। 

जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए। उनले २ हजार ५ सय ३७ मतभार पाइन्। उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले पनि एक मत पाएकी छन्।

निर्वाचनमा सङ्घीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) ३३२ सांसद र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्य मतदाताभए पनि मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरे।  कायम गरिएका संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको थियो।

संघीय संसदका ३३४ सांसदमध्ये रवि लामिछानेको पद रिक्त भएको र टेकबहादुर गुरुङ निलम्बनमा परेका दुई पद रिक्त छन्। यसैगरी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको तथा सांसदहरु चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित भएनन्। साथै सहनाज रहमानको निधन भएको थियो भने लक्ष्मी महतो कोइरीको मुद्दाका कारण  मतदानमा अनुपस्थित रहे।

आजको मतदानमा संघतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का एक जना सांसद मतदान नगरी तटस्थ बसे।  प्रदेशसभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्य मतदान नगरी तटस्थ बसे भने जसपाका एक सदस्य अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट भएको हो। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम थियाे।

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्