Kathmandu Press

उपराष्ट्रपतिका लागि मतदान सम्पन्न, साढे ३ बजेबाट मतगणना हुने

नतिजा घाेषणापछि उपराष्ट्रपतिमा निर्वाचितलाई प्रमाणपत्र पनि आजै प्रदान गरिने तयारी रहेको आयोगको भनाइ छ।
उपराष्ट्रपतिका लागि मतदान सम्पन्न, साढे ३ बजेबाट मतगणना हुने

काठमाडौं, चैत २ : नयाँ उपराष्ट्रपतिकाे आज (शुक्रबार) बिहान १० बजे सुरु भएको मतदान सकिएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो। अब साढे ३ बजेबाट मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ। नतिजा घाेषणापछि उपराष्ट्रपतिमा निर्वाचितलाई प्रमाणपत्र पनि आजै प्रदान गरिने तयारी रहेको आयोगको भनाइ छ।

मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जना सहभागी भए। संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरे भने प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरे। संघीय संसदका २१ जना अनुपस्थित भएका थिए ।

निर्वाचनमा संघीय संसद्का ३३२ सांसद र प्रदेशसभाका ५ सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।
 
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले राज्यको दोस्रो माथिल्लो पद हो।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ। यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, चैत ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्