उपराष्ट्रपतिको निर्वाचन : १२ बजेसम्म संघतर्फ ३८३ र प्रदेशतर्फ २१२ मत खस्यो
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं, चैत ३ : उपराष्ट्रपतिको निर्वाचनमा मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहने छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ बजेसम्म प्रदेशतर्फ ३८३ र संघतर्फ २१२ मत खसेको छ ।
संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाटै प्रमिला कुमारी र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको थियो ।
रामसहाय यादव गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका छन् भने प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेकी छिन् ।











