‘मगर खाम भाषा’मा पाठ्यक्रम
उनका अनुसार अघिल्लो वर्ष नै पाठ्यक्रम निर्माण गरिएको थियो। तर यहाँ बोलिने मगर खाम भाषा समावेश नहुँदा पाठ्यक्रम कार्यान्वयन गर्न नसकिएको हो। निसीखोला– ५ र ६ मा बसोबास गर्ने स्थानीय ‘मगर खाम भाषा’ बोल्ने गर्छन्। अन्य वडामा भने यो भाषा प्रयोग हुँदैन।बागलुङ, चैत २ : निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ। नयाँ पाठ्यक्रम यसवर्षदेखि कक्षा एकदेखि आठसम्म लागु गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले जानकारी दिए।
उनका अनुसार अघिल्लो वर्ष नै पाठ्यक्रम निर्माण गरिएको थियो। तर यहाँ बोलिने मगर खाम भाषा समावेश नहुँदा पाठ्यक्रम कार्यान्वयन गर्न नसकिएको हो। निसीखोला– ५ र ६ मा बसोबास गर्ने स्थानीय ‘मगर खाम भाषा’ बोल्ने गर्छन्। अन्य वडामा भने यो भाषा प्रयोग हुँदैन।
गाउँपालिकाले नेपाली र मगर खाम भाषा दुवैमा पाठ्यक्रम नर्माण गरेर पाठ्यपुस्तक तयार गर्ने उनको भनाइ छ। मगर खाम भाषाको पाठ्यपुस्तक दुई बाहेक अन्य वडामा ऐच्छिक विषयका रुपा राखिने छ। आगामी शैक्षिक सत्र २०८० देखि कक्षा १ मा दुवै भाषाका पाठ्यपुस्तक पढाइ हुने शिक्षा शाखा प्रमुख पुनले बताए।
आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम लागू भए पनि पाठ्यपुस्तक क्रमशः छपाइ गर्ने र लागू गर्ने उनको भनाइ छ पाठ्यपुस्तकमा स्थानीय कृषि, परम्परागत व्यापार व्यवसाय, स्थानीय प्रविधिमा आधारित उद्योग व्यवसाय, खाना, खेल, सङ्घसंस्था, समाज, बाजागाजा नाच, चाडपर्व र रीतिरिवाज, स्थानीय जातजाति, बेषभूषा तथा संस्कृति, धार्मिक ऐतिहासिक र पर्यटकीयस्थल र प्रकोप र विपद् व्यवस्थापन लगायतका विषय समावेश हुने उनले जानकारी दिए।
'पाठ्यक्रम पोहोर सालमै निर्माण गरेर सकिएको थियो, तर मगर खाम भाषाकै कारण लागू गर्न ढिलाइ भएको हो, नेपाली भाषाको मात्रै हुन्थ्यो भने गत वर्षनै लागूहुन्थ्यो,' प्रमुख पुनले भने,'यसवर्ष विषय विज्ञहरुको टिम बनेको छ, अब छिट्टै कक्षा १ देखि पाठ्यपुस्तक पठनपाठन गराउने गरी काम भएको छ।
यसवर्ष पाठ्यपुस्तकका लागि गाउँपालिकाले रु १० लाख विनियोजन गरेको छ। पछिल्लो समय मातृभाषा लोप हुनथालेपछि पाठ्यक्रममै समावेश गर्न लागेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए। निसीखोलाको सीमित ठाउँमा मात्रै मगर खाम भाषा बोलिने हुँदा भाषा संरक्षणमा चुनौती थपिएको अध्यक्ष घर्ती मगर बताउँछन्।
उहाँ भन्नुहुन्छ,'बालबालिकादेखि युवा बजारमा बस्ने, बजारमै पढ्न थाले गाउँमा पढ्ने पनि नेपाली भाषामै पढ्छन्, त्यसले गर्दा यहाँको भाषा सङ्कटमा पर्ने जोखिम बढेपछि संरक्षणका लागि हामी जुटेका छौँ, स्कुल पाठ्यक्रममै समावेश भएर पढाइ भयो भने भाषा लोप भएर जाँदैन।'
बागलुङमा अघिल्लो वर्षदेखिनै स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु भएको छ। सबैभन्दा पहिले तमानखोला गाउँपालिकाले पाठ्यक्रम निर्माण गर्नुको साथै पाठ्यपुस्तक बनाएर पठनपाठन सुरु गरेको हो। तमानखोलासँगै ताराखोला र बरेङ गाउँपालिकाले पनि पाठ्यक्रम बनाएर लागुका छन्।
तमानखोला गाउँपालिकाले ‘मेरो तमानखोला’ नामक पाठ्यक्रम बनाएर कक्षा १ देखि ३ सम्म पढाउन थालेको हो। आगामी वर्ष कक्षा ५ सम्मको पाठ्यक्रम लागू गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ। ताराखोला गाउँपालिकाले पनि गत शैक्षिक सत्रबाटै पाठ्यक्रम बनाएर पढाउन थालेको हो।
बरेङ गाउँपालिकले पनि यही शैक्षिक सत्रदेखि पाठ्यक्रम लागू गरेको छ। बरेङले पहिलो चरणमै कक्षा १ देखि ३ सम्मको ‘हाम्रो बरेङ’ पाठ्यक्रम बनाएर पढाउन थालिसकेको शिक्षा अधिकारी सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। गाउँपालिकाले स्थानीय चाडपर्व, कला, संस्कृति र पालिकाको परिचयलाई पाठ्यक्रममा समावेश गरिएको उनको भनाइ छ।
बडिगाड गाउँपालिकाले पनि यही वर्षदेखि कक्षा १ को पाठ्यपुस्तक निर्माण गरी पठनपाठन थालेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले जानकारी दिए। उनले यसवर्ष कक्षा १–३ पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको भन्दै अगामी वर्षदेखि माथिल्लो तहका पाठ्यपुस्ता निर्माण गरी पठनपाठन सुरु गरेको बताए।
बागलुङ नगरपालिकाले भने कक्षा १–८ को पाठ्यक्रम निर्माण गरे पनि पाठ्यपुस्तक बनाएर पठनपाठन गर्न सकेको छैन। आगामी शैक्षिक सत्रदेखि पाठ्यपुस्तक तयार गरी १–३ को पठनपाठन गर्ने नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए।