मुख्यमन्त्री शाह र युरोपियन युनियनका राजदूत डिप्रेजबीच भेट
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्ताका क्रममा जलविद्युत्का साथै स्वास्थ्य, शिक्षाको विकास लगायतका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए।
सुदूरपश्चिम, चैत २ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युरोपियन युनियनका राजदूतको टोलीसँग आज भएको भेटवार्तामा ऊर्जा क्षेत्रको प्रवर्धनमा सहयोग पुर्याउन आग्रह गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्ताका क्रममा जलविद्युत्का साथै स्वास्थ्य, शिक्षाको विकास लगायतका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए।
उनीहरुबीच नीति निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो। युरोपियन युनियनका राजदूत नोना डिप्रेजको नेतृत्वमा रहेको टोलीमा युरोपियन युनियनका सदस्य राष्ट्र जर्मन फिनल्याण्ड र फ्रान्सका राजदूतसमेत सहभागी थिए। राजदूतको टोलीले सुदूरपश्चिका डडेलधुरा र डोटीलगायतका जिल्लाको स्थलगत भ्रमण गरेर धनगढी फर्किएको छ।
जर्मन सरकारको सहयोगमा डडेलधुरामा अस्पताल निर्माणाधीन छ। टोलीले सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अवलोकनका क्रममा मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेय र अस्पतालका अध्यक्ष निर्मल शाहसँग छलफल गरेको थियो।
धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानाथारुसँग पनि यो टोलीले भेटगरी नगरको विकासमा गर्न सकिने सहयोगका विषयमा समेत छलफल गरेको थियो।
युरोपियन युनियनका सदस्य राष्ट्रको सहयोगमा सुदूरपश्चिमा स्वास्थ्य, शिक्षा, पोषणलगायतका क्षेत्रमा विभिन्न परियोजना सञ्चालनमा छन्।











