एमबिबिएस प्रवेश परीक्षामा सिटभन्दा ४७७४ बढी विद्यार्थी उत्तीर्ण, पढ्न पाउने सम्भावना न्यून
एमबिबिएस शैक्षिक कार्यक्रमका लागि बुधबार प्रकाशित नतिजाअनुसार ६ हजार ६६९ जना उत्तीर्ण भएका हुन्। तर आयोगले छुट्याएको कोटा १ हजार ८ सय ९५ मात्र हो।
काठमाडौं, चैत २ : चिकित्सा शिक्षा आयोगको परीक्षामा छुट्याइएको सिट संख्याभन्दा ४ हजार ७७४ जना बढी विद्यार्थी उत्तीर्ण भएका छन्।
एमबिबिएस शैक्षिक कार्यक्रमका लागि बुधबार प्रकाशित नतिजाअनुसार ६ हजार ६६९ जना उत्तीर्ण भएका हुन्। तर आयोगले छुट्याएको कोटा १ हजार ८ सय ९५ मात्र हो।
आयोगले फागुन २४ गते एकीकृत प्रवेश (एमइसिइई–बीएल २०२३) अन्तर्गतको एमबिबिएस शैक्षिक कार्यक्रमका लागि परीक्षा सञ्चालन गरेको थियो।
उत्तीर्ण भएकाहरू एमबिबीएस अध्ययन गर्न योग्य मानिन्छ। झन्डै डेढ गुना बढी विद्यार्थीको नाम निकालिएको हँुदा ४ हजार ७७४ विद्यार्थीले पढ्न पाउने सम्भावना कम देखिन्छ।
परीक्षामा मर्यादाविपरीत कार्य गर्ने दुई जनाको परीक्षा रद्द गरिएको र उत्तरपुस्तिकामा रोल नम्बरमा बबल बिगारेका २१३ विद्यार्थी तथा उत्तरपुस्तिकामा क्वेसन सेट र रोल नम्बर दुवैमा बबल बिगारेका २३ परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ।
नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि चैत ८ गते बिहान १० बजेदेखि चैत १० गते अपराह्न ५ बजेभित्र आवश्यक प्रकृया पूरा गरी निवेदन दिन सक्ने आयोगको भनाइ छ।











