युएईविरुद्ध नेपाललाई ठूलो सफलता, सन्दीपले लिए कप्तान वसिमको विकेट
वसिमको विकेटसँगै दबाबमा रहेको नेपाली टोलीलाई राहत पुगेको छ ।
काठमाडौं, चैत २ : लेग स्पिनर सन्दीप लामिछानेको बलिङमा युएईका कप्तान मोहम्मद वसिम आउट भएका छन् । नेपालका लागि यो निकै ठूलो सफलता हो ।
खेलको १७ औं ओभरको दोस्रो बलमा सन्दीपले युएईका कप्तान वसिमलाई आउट गरेका हुन् । वसिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रन बनाएका छन् । उनको विकेटसँगै दबाबमा रहेको नेपाली टोलीलाई राहत पुगेको छ ।
यसअघि ललितनारायण राजवंशीले पहिलो विकेट लिएका थिए । उनले दोस्रो ओभरमा आर्यन लाक्रालाई बोल्ड गरेका थिए । खेलको १९ ओभर सकिँदा युएईले १०८ रन बनाएको छ । आजको खेल जित्नैपर्ने दबाबमा नेपाल छ ।
यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।
नेपाल लिग–२ मा ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शिर्ष र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ।











