निफको छैटौं संस्करण आजदेखि
‘निफ’को समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने कार्यक्रम छ भने, समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी गराए ।
काठमाडौं, चैत २ : नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करण आजदेखि काठमाडौंमा प्रारम्भ हुँदैछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएको हो ।
चैत ६ गतेसम्म आयोजना हुने महोत्सवको नारा ‘विश्वभरका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने रहेको छ ।
‘निफ’को समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने कार्यक्रम छ भने, समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जानकारी गराए ।
पत्रकार सम्मेलनमा महोत्सव संयोजक यादव भट्टराईले पाँच दिनसम्म सञ्चालन हुने यो महोत्सवमा ५५ देशबाट आएका पाँच सयभन्दा बढी चलचित्रमध्ये, ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको जानकारी गराए । यसपटकको महोत्सव विशेष बनाउन आवश्यक सम्पूर्ण प्रयास गरिएको भट्टराईको दाबी छ ।
सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरूबाट गरिने बताइएको छ । प्रति शो १५० रुपैयाँ टिकेट निर्धारण गरिएको प्रदर्शनीमा दिनभर सहभागी हुन चाहनेले पाँच सय रुपैयाँ तिर्नुपर्ने छ । महोत्सवमा चलचित्रहरू काठमाडौंको सिभिल मल र छायां सेन्टर, पुलचोकको लविङ मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर हेर्न सकिने आयोजकले जनाएको छ ।












