मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयबारे जानकारी दिन आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा अत्यावश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको जानकारी दिइन्।
काठमाडौं, चैत १ : सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाएको छ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयबारे जानकारी दिन सिंहदरबारमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा अत्यावश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको जानकारी दिइन्।
बैठकले नेपाल र अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने, यती एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन्।
बैठकले पूर्व मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिवको संयोजकत्वमा कार्यन्वयन सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ।
यस्तै बैठकले सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने, नागढुङ्गा नौबिसे मुग्लिन सडकखण्ड विस्ताका लागि सडक सिमाभित्रका १ सय २१ घरटहरा भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिएर घरटहराहरु हटाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत मन्त्री शर्माले जानकारी दिइन्।











