उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई मत दिने कांग्रेसको निर्णय
बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न पार्टीको सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
काठमाडौं, चैत १ : नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत्र ३ गते हुने उपराष्ट्रपतिकाे निर्वाचनमा गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार यादवलाई समर्थन गर्ने र संघीय संसदका सदस्य एवं प्रदेश सभामा सदस्यहरुलाई यादवको पक्षमा मतदान गर्न निर्देशन दिएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
उपराष्ट्रपतिको निर्वाचन बिहीबार हुँदैछ । उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । राष्ट्रपतिका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उम्मेदवार छन् ।
बैठकले राष्ट्रपतिमा निर्वाचित भएकोमा रामचन्द्र पौडेललाई बधाइ प्रकट गर्दै राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न सफलता प्राप्त हुने विश्वासका साथ शुभकामना व्यक्त गरेको छ भने पौडेललाई आफ्नो मत दिएर निर्वाचित गराएकोमा गठबन्धन दल आवद्ध सांसदहरुप्रति धन्यवाद प्रकट गरेको प्रवक्ता महतले बताए।
आजको बैठकले बैंशाख १० गते हुने चितवन क्षेत्र नंवर २ लगायत उपनिर्वाचन हुने अन्य क्षेत्रमा उम्मेदवारीका लागि उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धीत निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत निर्देश गर्ने निर्णय गरेको प्रवक्ता महतले बताए।
बैठकले कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व जिल्ला सभापति एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा रामबहादुर ठकुरी, चितवन क्षेत्र नंवर १ का महाधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।











