सभामुख घिमिरेद्वारा बहराइनमा रहेका नेपाली श्रमिकको अवस्थाबारे चासो

काठमाडौं, फागुन ३० : अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १४६औँं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् ।
मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुग्नुभएका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझेका हुन् ।
अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिएका थिए ।
भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौँमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राखेका थिए।
सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धिलगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेका थिए।
कार्यक्रममा नेताहरु रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरियालगायत उपस्थित थिए । छ दिने भ्रमण सम्पन्न गरी सभामुख नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार स्वदेश फर्कंदैछ।











