Kathmandu Press

माओवादी धारका दलहरुको अन्तरक्रिया स्थगित 

आजका लागि तय भएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।  
माओवादी धारका दलहरुको अन्तरक्रिया स्थगित 

काठमाडौं, फागुन ३० : माओवादी धारका दलहरुले आज गर्ने भनेको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।  

फागुन २६ गते बसेको माओवादी धारका ९ दलको बैठकले फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते पार्टीका नेता र सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने तय गरेको थियो । तर, आजका लागि तय भएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।  

प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी धारका दलहरु नजिकिएका थिए । विभिन्न ९ दलका नेताहरुले शान्तिप्रक्रिया, संक्रमणकालीन न्याय र अदालतमा प्रचण्डविरुद्ध दायर भएको रिटको समिक्षा गर्दै शान्ति प्रक्रियालाई बिथोल्न खोजे कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयअनुसार फागुन २८ गते पत्रकार सम्मेलन गरी आज अन्तरक्रिया कार्यक्रम गर्ने र आगामी कदमबारे निर्णय गरिने भनिएको थियो । १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले सर्वोच्चमा रिट दायर गरेका छन् ।

फागुन २६ गते सर्वोच्च अदालतले संक्रमणकालिन न्यायसँग जोडिएको विषयमा रिट निवेदन दर्ता भएको र यस मामिलामा पटक–पटक व्याख्या भएको भन्दै पूर्ण सुनुवाइपछि मात्रै मुद्दाको कानूनी प्रश्नहरुको निरुपण हुने आदेश गरेको थियो । 

रिट सर्वोच्चले अन्तरिम आदेश जारी नगरे पनि रिटलाई अग्राधिकार दिएको छ ।

प्रकाशित मिति: १२:०३ बजे, मंगलबार, फागुन ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्