बंगलादेशको कला प्रदर्शनीमा चापागाउँका सुरेम देशार उत्कृष्ट
ललितकला क्याम्पसबाट आधुनिक कलामा स्नातकोत्तर गरेका सुरेम पछिल्लो समय अमूर्त कला सिर्जनामा सक्रिय छन्।
काठमाडाैं, फागुन २९ : कलाकार सुरेम देशारले बंगलादेशमा सम्पन्न कला प्रदर्शनीमा उत्कृष्ट स्थान हासिल गरेका छन्।
ललितपुरको चापागाउँ निवासी सुरेमले फोकस बंगलादेशले ढाकामा आयोजना गरेको डट्स अन्तर्राष्ट्रिय मिनियचर विषयक कला प्रदर्शनीमा उत्कृष्ट स्थान हासिल गरेका हुन्।

प्रतियोगितामा विभिन्न सात देशबाट २ सय कलाकारमध्येबाट उत्कृष्ट १० मा परेर उनी पुरस्कृत भएका हुन्। उनको अमूर्त विधाको नेचर नामक चित्रकला उत्कृष्ट १० मा पर्न सफल भएको थियो। सोही चित्रकलाले उनलाई उत्कृष्ट स्थान दिलाएको हो।
सो प्रदर्शनीमा नेपालबाट सुरेमसहित १० जनाकाे कला समावेश थियाे। जसमा सुरेम, वरिष्ठ कलाकार गौतम रत्न तुलाधर, अंकित महतो, गौरवरत्न तुलाधर, पणरतिमा थापा, शिवानी राणा, सुष्मा श्रेष्ठ, सुष्मिता कुँवर, श्रेया श्रेष्ठ, सुकृति नकर्मी र रेनुका महर्जन थिए।

दुई दशकदेखि चित्रकलामा क्रियाशील सुरेम युवा पुस्ताका प्रभावशाली कलाकारमा गनिन्छन्। ललितकला क्याम्पसबाट आधुनिक कलामा स्नातकोत्तर गरेका सुरेम पछिल्लो समय अमूर्त कला सिर्जनामा सक्रिय छन्।
कलाकार र साहित्यकार सम्मिलित ‘कुक’ (कुची र कलम) समूहमा आबद्ध रहेर उनले केही समययता देशका विभिन्न भूभागमा पुगेर प्रकृति र संस्कृतिलाई चित्रमा उतार्दै आएका छन्।












